arrow

यातायात कार्यालय वालिङमा राख्न चार जिल्लाका सरोकारवालाहरुको माग

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ भदौ २८ आइतबार
waling-syanjga.jpg

स्याङ्जा । गण्डकी प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय स्याङ्जाको वालिङमा स्थापना गर्न चार जिल्लाका सरोकारवालाहरुले माग गरेका छन् । जिल्लाको प्रमुख व्यापारीक केन्द्र समेत रहेको वालिङमा यातायात कार्यालय स्थापना गरिदिन चार जिल्लाले माग गरेका हुन् । वालिङ उद्योग वाणिज्य संघको अगुवाईमा माग गरिएको यातायात कार्यालय स्थापना गर्न पाल्पा, गुल्मी, पर्वत र स्याङ्जा गरी चार जिल्लाले वालिङलाई रोजेका थिए । वालिङमा यातायात कार्यालय स्थापना गर्न रोजेका जिल्लाले कास्कीको पोखरा र रुपन्देहीको बुटवलबाट सेवा लिदै आएका छन् । चार जिल्लाका १२ स्थानीय तहका प्रमुख र ५ ओटा उद्योग वाणिज्यका प्रतिनिधी सहित दर्जनौ यातायात व्यवसायीले हस्ताक्षर गरेर स्याङ्जाको वालिङमा यातायात कार्यालय स्थापना गर्न गण्डकी प्रदेशलाई बुझाएका हुन् ।

वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारी र वालिङ उद्योग संघका अध्यक्ष शोभाकान्त पौडेलको नेतृत्वमा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसब्वा गुरुङ्लाई भेटेर वालिङमा यातायात व्यवस्था कार्यालय स्थापना गरिदिन हस्ताक्षर सहितको ज्ञापनपत्र समेत बुझाइएको छ । गण्डकी प्रदेश सरकारले जेष्ठ ११ गते स्याङ्जा सदरमुकाम पुतलीबजारमा पुर्वाधार कार्यालय सहित यातायातको सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । हामीले पुर्वाधार कार्यालय सदरमुकाममा राखेपनि यातायातको सेवा केन्द्र वालिङमा स्थापना गरिदिन माग गरेका छौं वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले भने,“जिल्लाको पायकपर्ने र अन्य तिन जिल्लाको सेवाग्राहीलाई समेत पायक पर्नेगरी ज्ञापनपत्र दिएका छौं ।” भौगोलिक अवस्था र सेवाग्राहीको मागलाई प्रदेश सरकारले सम्वोधन गर्नेमा हामी विश्वस्थ छौ पौडेलले भने । 

पाल्पाको रामपुर नगरपालिका, गुल्मीको कालीगण्डकी, पर्वतको पैयु र विहादी गाँउपालिका सहित स्याङ्जाका ८ स्थानीयतहले यातायात कार्यालय वालिङमा स्थापना गरिदिन सिफारीस गरेका छन् । स्थानीयतहसँगै जिल्लाका ४ उद्योग वाणिज्य संघ र रामपुर उद्योग वाणिज्य संघले पनि वालिङमा नै राखिदिन माग गरेका छन् । यातायात कार्यालयसँग सम्वन्ध राख्ने सामाजिक संघसंस्था र उद्योगी व्यवसायीले समेत यातायात कार्यालय राख्न वालिङलाई छनोट गरेका छन् ।

वालिङ उद्योग वाणिज्य संघका महासचिव केशरबहादुर खाँण(ध्रुव)ले भने,“जहाँ धेरै भन्दा धेरै सेवाग्राहीले सेवा लिन पाउछन् त्यो क्षेत्र छनोट हुनुपर्छ भन्ने हाम्रो माग हो ।” संघियताको नागरिकले महशुस गर्ने वातावरण मिलाउने हो भने वालिङलाई कार्यक्षेत्र मिलाएर यातायात कार्यालय स्थापना होस भन्ने प्रदेश सरकारसँग व्यवसायीको आग्रह हो खाँणले भने । 

पाल्पा, पर्वत, गुल्मी र जिल्लाका विभिन्न भागको मध्य क्षेत्रमा रहेको वालिङ चारै जिल्लाको ट्रान्जिट प्वाईन्ट हो । वित्तिय संघसंस्थादेखि यातायात व्यावसायी दर्जनौ संख्यामा रहेको वालिङ व्यापारीक केन्द्रको रुपमा परिचित छ । लामोदेखि छोटा दुरीका सवारी साधन छुट्ने वालिङ यातायात कार्यालय स्थापना हुँदा हजारौ सेवाग्राही लाभान्वित हुनेछन् । सबै नागरिकले सहज रुपमा सेवा लिन पाउन भन्ने चाहाना वालिङ नगरपालिकाको रहेको नगर उपप्रमुख कल्पना तिवारीले बताईन् । गण्डकी प्रदेश सरकार मातहतको एउटा कार्यालय वालिङमा स्थापना होस भन्ने हाम्रो चाहाना हो उपप्रमुख तिवारीले भनिन्,“यातायात कार्यालय वालिङमा स्थापना हुनेमा नगरपालिका ढुक्क छ ।” प्रदेश सरकारले जनताको चाहाना अनुरुप काम गर्ने छ भन्ने बिषय यातायात कार्यालय वालिङमा स्थापना हुनुले प्रमाणित गर्नेछ तिवारीले भनिन् ।

यस विषयमा प्रदेश सरकारका मुख्य मन्त्री गुरुङ् पनि सकरात्मक देखिएको बताइएको छ । वालिङले आन्तरिक राजस्व कार्यालय वालिङमा स्थापना गर्न माग गर्दै आएको थियो तर संघिय सरकारले जिल्ला सदरमुकाममा स्थापना गरिदिएपछि यातायात कार्यालय स्थापनाका लागि जोडदार माग गर्दै आएको छ । 



लोकप्रिय समाचार
नयाँ