काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर आइतबार एक हजार ३९ कोभिड–१९ (कोरोना भाइरस) का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नौ हजार १६५ जनाको पिसीआर परीक्षण गरिएकामा एक हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै कूल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । हालसम्म आठ लाख ४० हजार ५२७ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५९७ कोरानाका संक्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौँमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ रहेका छन् । आइतबार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । संस्थागत आइसोलेशनमा सात हजार ७३० र होम आइसोलेशनमा सात हजार ३८७ रहेका छन् । अहिले देशभरका क्वारेन्टिनमा छ हजार ५३६ जना रहेका छन् ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७३ जना कोरोना जितेर घर फर्केका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या ३८ हजार ६९७ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ । आइतबार देशभर १६९ कोरोनाका संक्रमित आइसियुमा छन् । भेन्टिलेटरमा उपचाररत २३ जना छन् ।
मुलुकभर कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ३ महिला र ६ पुरुष रहेका छन् । कोरोनाका कारण आइतबारसम्म ३४५ जनाको मृत्यु भएको जनाइएको छ ।
पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, सर्लाही, काठमाडौँ, चितवन, ललितपुर र भक्तपुर छन् । शून्य संक्रमित भएका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला र डोल्पा छन् ।
विश्वभर कोरोना संक्रमितको सङ्ख्या दुई करोड ८९ लाख ४७ हजार ५१० पुगेको छ । कोरोनाबाट निको हुनेको सङ्ख्या दुई करोड आठ लाख १३ हजार २२१ रहेको मन्त्रालयले जनाएको छ ।