विराटनगर । विराटनगर महानगरपालिकाकाबाट प्रदान गरिने सेवा यही भदौ २९ देखि असोज २ गतेसम्मका लागि बन्द गरिएको छ ।
महानगरद्वारा आइतबार जारी सूचनामा नगरका केही जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले रोकथाम, न्यूनीकरण तथा नियन्त्रणका लागि नगर कार्यपालिका कार्यालय र मातहतबाट प्रवाह हुने सेवा (अत्यावश्यकबाहेक ) बन्द गरिएको उल्लेख गरिएको छ ।
महानगरले प्रदान गर्ने स्वास्थ्य, सरसफाइ, वारुणयन्त्र र एम्बुलेन्स सेवा भने चल्ने छ ।
यसैबीच महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल कोरोना भाइरसबाट आइतबार संक्रमित भएका छन् ।
महानगरका जनस्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले अधिकृत पोखरेलको पिसिआर रिपोर्ट आइतबार पोजेटिभ आएको पुष्टि गरे ।
यसअघि वडा नं २ र ५ का वडाध्यक्ष कुमार पोखरेल र मीनकुमार आचार्य पनि संक्रमित भएका थिए ।