कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता हैन राम्रो बोलिबचन पनि पाएनन्
रामजी घिमिरे
प्रकाशित २०७७ भदौ २८ आइतबार
100
Shares
करिब २४ हजार अहेव, एचए, स्टाफ नर्स, ल्याव, फिजियोथेरापिष्ट लगायतका स्वास्थ्यकर्मीहरु अहिले देशभर कोरोना संक्रमित व्यक्तिहरुको उपचारमा अहोरात्र खटिएका छन् । यो सरकारी निकायमा कार्यरत स्वास्थयकर्मीहरुको संख्या हो । रामजी घिमिरे स्वास्थ्यकर्मीहरुको प्रतिनिधिमूलक संस्था नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष हुन् । उनका अनुसार देशभर करिब ३५ हजार स्वास्थ्यकर्मी मध्ये २४ हजार स्वास्थ्यकर्मी फिल्डमा छन् । नीजि क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको संख्या यो भन्दा दोब्बर रहेको उनको भनाइ छ। प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः
तपाईं आफै पनि स्वास्थ्यकर्मी हुनुहुन्छ, कोरोना संक्रमण बिरुद्ध खटिएका स्वास्थ्यकर्मीहरुको भावना कस्तो पाउनु भएको छ ?
कोरोना संक्रमणमा खटिएका स्वास्थ्यकर्मीहरु जोखिममा परेका मात्र छैनन,उनीहरुको मनोबल पनि खस्किएको अवस्था छ। उनीहरु सरकारबाट पनि अपहेलित भएका छैनन, समाजबाट पनि अपहेलित भएका छन् । घरभेटीले कोठाबाट निकालेका छन् । जसलाई उपचार गर्नु पर्ने हो, उनीहरुले नै घरबाट निकाल्दा उनीहरुको मनोभाव कस्तो होला तपाईं आफै अनुमान गर्नुहोस। अहिले स्वास्थ्यकर्मीहरुले जसरी समाज र सरकारी निकायबाट प्रोत्साहन पाउनु पर्थ्यो ,त्यस किसिमबाट व्यवहार भएको छैन । यसमा पैसा मात्र ठूलो कुरा होइन । बोलिबचन पनि राम्रोसँग पाउन सकेको अवस्था छैन।
नेपाल सरकारले जसरी स्वास्थ्यकर्मीहरुलाई सुरक्षित बनाउनु पर्थ्यो, समयमै सुरक्षाका सामानहरु उपलब्ध गराउनु पर्थ्यो, त्यसमा सरकार चुकेको छ। लकडाउन दुईवटा उदेश्यकोलागि गरिन्छ । पहिलो कुरा संक्रमणको साइकललाई ब्रेक गर्ने र अर्को तयारी गर्ने कुरा हो । तयारी गर्ने मामिलामा सरकार चुकेको छ । सुरक्षाका सामग्रीहरु भित्र्याउने, औषधी उपकरणको व्यवस्थापन गर्ने, स्वास्थ्यकर्मीहरुको तयारी तथा जनतालाई सचेत गराउने लगायतका काम लकडाउन अवधिभर गर्नुपर्थ्यो । तर, त्यसरी काम भएन ।
स्वास्थ्यकर्मीहरुलाई अस्पताल लगायत जोखिमका क्षेत्रमा काममा खटाउँदा रोटेशेनमा आलोपालो प्रणाालीमा खटाउनु पर्थ्यो । तर त्यसरी खटाइएन । एक दिन कति घण्टा ड्युटी लगाउने हो, त्यती समयमा आलोपालो सिस्टमबाट काममा लगाउनु पर्थ्यो । सरकारी क्षेत्र मात्र नभइ नीजि क्षेत्रमा पनि यसरी काममा लगाइएन ।
अर्को कुरा, सरकारले यो अवधिमा बैकल्पिक स्वास्थ्यकर्मीहरु तयार गर्नु पर्थ्यो । स्वास्थ्यकर्मीहरु संक्रमित भए पछि उनीहरुको ठाउँमा काम गर्ने गरी बैकल्पिक स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राख्नु पर्थ्यो, त्यो पनि भएन । स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन सरकारले कुनै काम गरेन । सरकारले स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने भनेको थियो, तर कसैलाई पनि जोखिम भत्ता दिएन । जो फिल्डमा जानुभएन, उहाँहरुले भने जोखिम भत्ता पाउनुभयो ।
स्वास्थ्यकर्मीहरु कसैले पनि जोखिम भत्ता पाएका छैनन त ?
अधिकांश स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाएको छैनन । फिल्डमा खटिएकाहरु कसैले पनि जोखिम भत्ता पाएका छैनन् । आइसोलेसन, क्वारेन्टाइन, अन्तराष्ट्रिय एयरपोर्टमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने भनेर निर्देशिकामा लेखिएको छ । तर उहाँहरुले जोखिम भत्ता पाउनु भएको छैन । नन रिस्क एरिया अर्थात ननकोभिड क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरु पनि जोखिममा हुनुहुन्छ । सरकारले काँही पनि हेल्थपोष्टलाई जोखिम क्षेत्र भनेर छुट्टयाएको छैन । तर हेल्थपोष्ट पनि जोखिम क्षेत्र हो । हेल्थपोष्टमा काम गर्ने साथीहरुले जोखिम भत्ता पाउनु भएको छैन ।
अहिले देशभर कति संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित छन् ?
सरकारी क्षेत्रमा काम गर्ने करिब ९ सय स्वास्थ्यकर्मीहरु संक्रमति हुनुहुन्छ ।
नीजि क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरु कति संख्यामा संक्रमति छन ?
सरकारी निकायमा भन्दा नीजि क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुको संख्या बढी छ । ३५ हजारको हाराहारीमा सरकारी क्षेत्रमा र त्यसको दोब्बर नीजि क्षेत्रमा स्वास्थ्यकर्मीहरु कार्यरत छन् । नीजि क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरु झन मर्कामा पर्नु भएको छ । नीजि क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरु जागिरीबाट निकालिएको अवस्था छ । बिराटनगर, जनकपुर, पोखरामा नीजि क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरु सेवाबाट निकालिएका छन् । अहिले रोजगारी अवस्था दिने छैन, त्यसैले जागिरीबाट हटाएका छौ भनेर सूचना दिने काम भएको छ । काममा राखिएकालाई पनि थोरै तलब दिइएको छ ।
प्रसङ्ग बदलौ, नेपालमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको हो ?
पहिलेकोभन्दा अवस्था झनै समस्याग्रस्त स्थितिमा छ । समुदायमा कोरोना संक्रमण पुगेको देखिन्छ । यद्यपि सरकारले यो घोषणा गरेको छैन । अहिले सबैभन्दा बढी संक्रमण प्रहरी फोर्समा देखिएको छ । यसैगरी स्वास्थ्यकर्मीहरु पनि अहिले सबैभन्दा बढी संक्रमित भएका छन् ।
कस्ता कस्ता व्यक्तिलाई कोरोना लागेको देखिन्छ ?
जस्ले नियम पालना गरेका छैनन, सामाजिक दुरी कायम गर्दैनन्, मास्क लगाउँदैनन्, हात धुने काम गर्दैनन्, जो जोखिम क्षेत्रमा बसेका छन्, उसलाई कोरोना संक्रमति हुने अवस्था देखिएको छ।
कोहीले त कोरोना केही पनि होइन भन्ने पनि गर्छन नि ?
कोहीले कोरोना केही पनि होइन भन्छन्, कोहीले कोरोना सबै थोक हो भन्छन् । अहिले दुबै किसिमको अतिवाद देखिन्छ । अर्को कुरा कोभिड १९को संक्रमण सुरु भए पछि सरकारले कोभिड बाहेक अरु विरामीको उपचार गर्न सेवा बन्द गर्यो । अहिले कोभिडबाट मृत्य भएका भन्दा पनि नन कोभिडबाट मृत्य भएकाहरु बढी छन् । सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने भनेको छ । वीर अस्पताललाई कोभिड अस्पताल बनाउने हो भने वीर अस्पतालमा एक दिनमा ३ हजारभन्दा बढी विरामी उपचार गर्न आउँछन, ती व्यक्तिहरु अब कहाँ जान्छन ? उनीहरुलाई कहाँ उपचार गर्न पठाउँने ? त्यसैले नेपाल सरकार एक पछि अर्को गरी चुक्दै गएको छ ।
एउटा कोठामा एउटा संक्रमित व्यक्ति बसेको छ, त्यहाँ अरु दुई तीन जना संक्रमति नभएका पनि बसेका छन्, एउटा फ्ल्याटमा संक्रमति र संक्रमित नभएका व्यक्ति सँगसँगै बसेका छन् । त्यस्तो अवस्थामा संक्रमित र संक्रमित नभएका व्यक्तिहलाई छुट्टाछुट्टै ठाउँमा राख्नुपर्छ । तर सरकारले यसरी छट्टाछुट्टै राखेको देखिन्न । त्यस्ता व्यक्तिहरुलाई आइसोलेसनमा राखेको देखिन्न । सरकारले कोभिड भएका र कोभिड नभएका व्यक्तिहरुलाई छुट्टयाएर अलग अलग ठाउँमा राख्न जरुरी छ । यसरी छुट्टयाउन नसके भयावह अवस्था आउन सक्छ ।
यसकोलागि पीसीआरको परिक्षण दायरा बढाउनु पर्यो, होइन ?
पीसीआर परिक्षणको दायरा बढाउनु पर्यो । तर परिक्षणको दायरा बढाएर मात्र हुँदैन रिपोर्ट आउन नै ४-५ दिन लाग्छ । तत्काल रिपोर्ट दिनु पर्यो । सरकार व्यवस्थापकीय पक्षमा चुकेको देखिन्छ । अहिले तीन तहका सरकार छन्, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार छन् । तर तीन तहका सरकारबीच समन्वय छैन । त्यती मात्र होइन, संघीय सरकार भित्रै पनि समन्वय भएको छैन ।
अबका दिनहरुमा कोरोनाको अवस्था झन भयावह हुने देखिन्छ कि नियन्त्रणमा आउने देखिन्छ, तपाईको अनुमान के छ ?
भयावह हुन्छ भनेर अहिले नै नभनौ तर व्यवस्थापकीय पक्षमा सरकारले राम्रोसँग काम गरेन भने यो संंख्या अझै बढ्ने छ। संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार आपसमा समन्वय गरेर यसको व्यवस्थापन गर्न सके भने संक्रमणको संख्या घट्न सक्छ । तर अहिले उसले उसलाई देखाउने काम भएको छ । कर्मचारीहरुको मनोबल खस्काइएको छ । स्वास्थ्यकर्मीहरुको मनोबल खस्किएको छ । स्वास्थ्यकर्मीहरुको काम गर्ने मनस्थिति गिरेको अवस्था छ । केही स्वास्थ्यकर्मीहरुले महिनौसम्म तलब पाएको अवस्था छैन ।