काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित सिंह भण्डारी गम्भीर घाइते भएका छन् । सवारी दुर्घटनामा उनी गम्भीर घाइते भएका हुन् ।
धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा आइतबार बेलुकी कञ्चनपुरमा दुर्घटना भएको हो ।
शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का वासिन्दा भण्डारी र उनका भाइ नाता पर्ने करण ठगुन्ना दुर्घटनामा घाइते भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिए पनि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ललित हाल कोहलपुर मेडिकल अस्पतालमा रहेका छन् । उनको अवस्था स्थीर रहेको पूर्व कप्तान पारस खड्काले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
चिकित्सकले उनी खतरामुक्त भएको बताएको पनि पारसले लेखेका छन् । उनका दुवै हात र खुट्टाको अप्रेशन भइरहेको समेत बताइएको छ ।
पारसले ललितको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।