काठमाडौं । सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित सिंह भण्डारी खतरामुक्त भएका छन् ।
उनको टाउकोको सिटी स्क्यान गर्दा टाउकोमा कुनै पनि चोट नलागेको बताइएको छ । यसको पुष्टि गर्दै नेपाल क्रिकेट संघ क्यानले अहिले अवस्था सामान्य रहेको जानकारी गराएको छ ।
उनको हात र खुट्टामा थुप्रै चोटपटक लागेको छ । दुवै हात र खुट्टा भाँचिएका छन् ।
प्रदेश क्रिकेट संघले उनको उपचारको समन्वय गरिरहेको पनि संघले जनाएको छ ।
ललितको हाल कोहलपुर मेडिकल अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले उनी खतरामुक्त भएको बताएका छन् ।
उनको हात र खुट्टा भाँचिएकाले अप्रेशन भइरहेको समेत बताइएको छ ।
के भएको थियो ?
ललित सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई से १ ख १३२४ नम्बरको ट्रकले ठक्कर दिएर आइतबार बेलुकी कञ्चनपुरमा दुर्घटना भएको थियो ।
शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का वासिन्दा ललित र उनका भाइ नाता पर्ने करण ठगुन्ना दुर्घटनामा घाइते भएका थिए ।
ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिए पनि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।