काठमाडौं । बेलायतमा कोरोना भाइरसको अर्को चरण सुरु भएर दुःख दिन थालेपछि सरकारले कडा नियम लागू गरेको छ । ‘रुल अफ सिक्स’ नाम दिइएको नयाँ नियम सोमबारदेखि लागू भएको छ ।
यो नियम लागु भएपछि अब समूहमा रहन प्रतिवन्ध लगाइएको छ । छ जनाभन्दा बढी जमघट भएको पाइए ३ हजार २ सय पाउन्डसम्म जरिवाना तिर्नुपर्नेछ ।
४.५ मिटरको ढालसमेत बनाउनु पर्नेछ । अर्थात् कम्तीमा त्यति दूरीमा रहन पाइने छैन । युवाहरुले नियम बिर्सेको भन्दै कोरोनाबाट बचाउन कडा नियम लगाउनु परेको स्वास्थ्य मन्त्रीले जनाएका छन् ।
सामाजिक दूरीको गाइडलाइन मान्न अनिवार्य गरिएको छ । त्यसलाई नमाने कडा कार्वाहीमा उत्रने समेत उनले बताएका छन् ।
युवाहरुमा संक्रमणको गति तीव्र रुपले बढेकाले यस्तो कठोर नियम लगाउनु परेको पनि बताइएको छ । आइतबार मात्रै ३ हजार ३ सय को संख्यामा नयाँ कोरोनाका संक्रमित भेटिएका छन् । शनिबार ३ हजार ४९७ र शुक्रबार ३ हजार ५३९ जना फेला परेका थिए ।
रिपोर्टअनुसार ४५ लाख बेलायतीहरु उच्च जोखिममा रहेका छन् ।
युवाहरुलाई बचाउनका लागि राति १० बजेपछि बारहरुमा कर्फर्यु पनि लगाइने भएको छ । विशेषगरी बर्ममाउथ, ब्राइटन, लिड्स, लण्डन र नटिङघममा हजारौंको संख्यामा युवाहरुले मस्ती गरेका छन् ।
शुक्रबारदेखि आइतबारसम्म तीन दिन उनीहरुले मस्ती गरेका हुन् । सोमबारदेखि मस्तीमा प्रतिबन्ध लगाइएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले नियम कडाइका पालना गर्नुपर्ने र कसैले उल्लंघन गरे कडा कार्वाही गर्ने बताएका छन् ।
बेलायतमा कोरोनाका ३ लाख ६८ हजार ५०४ जना कोरोना संक्रमित भएकामा ४१ हजार ६२८ को ज्यान गएको छ ।