काठमाडौं । स्पेनिश ला लिगा फुटबल शनिबार (अगष्ट १२) देखि सुरु भएको छ । पहिलो दिनको खेलमा आइबार र सेल्टाभिगोले गोलरहित बराबरी गरी लिग सुरु गरेका छन् । ग्रानाडाले घरेलु मैदानमा एथलेटिक बिलबाओलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
दोस्रो दिन नै डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडले घरेलु मैदानमा गेटाफेसँग तथा डिफेन्डिङ रनर अप बार्सिलोनाले इल्चेसँग खेल्ने कार्यक्रम रहेको थियो ।
तर यो खेल सर्यो । रियालले सेप्टेम्बर २० को राति रियाल सोसिडाडसँग खेल्नेछ भने बार्सिलोनाले २७ सेप्टेम्बरमा भिल्लारियलसँग खेल्नेछ ।
बार्सिलोनाको पहिलो खेलसम्म कम्तीमा पनि स्पेनिश लिगको रौनक टिक्नेछ । किनकि बार्सिलोनाबाट पुनः लियोनल मेस्सीले कप्तानी ब्यान्ड लगाएर खेल्नेछन् ।
३३ वर्षीय मेस्सीले बार्सिलोनामा रहने वा छाड्ने विषयले निकै नै विवाद सिर्जना गर्यो । गएको लिगमा मेस्सीले सर्वाधिक गोल गरे पनि लिग जिताउन सकेनन् । त्यसैगरी च्याम्पियन्स लिगमा बार्सिलोना क्वार्टरफाइनलबाटै बाहिरिनु पर्यो ।
यो पीडाबाट गुज्रनु पर्दा उनलाई खपिनसक्नु भयो । अनि उनले आलोचित हुनुभन्दा क्लब छाड्ने निर्णय गरे । तर करियर नै बार्सिलोनाबाट थालेका मेस्सीलाई बार्सा छाड्न सजिलो थिएन ।
उनको क्लब अध्यक्षसँग पनि राम्रो सम्बन्ध बनेन । उनी अदालतमा जान पनि चाहेनन् । उनलाई कुनै पनि क्लबले बार्सिलोनाले चाहे जति रकम दिन तयार हुन सकेनन् ।
कारण थियो उनलाई क्लबबाट रिलिज गर्नका लागि मात्र सात सय मिलियन युरो दिनुपर्दथ्यो । कोरोनाको महामारीले आर्थिक मन्दी लागेका बेलामा उनलाई क्लबले न छाडेर उनीभन्दा उत्कृष्ट खेलाडी ल्याउन सक्थ्यो न त मेस्सीलाई अर्को कुनै क्लबले किन्न सक्ने अवस्था देखियो ।
मेस्सी क्लबबाट सहज बाहिरिने उपाय खोज्न अदालत जान सकेनन् । किनकि उनले यसअघि नै सन्यास बार्सिलोनाबाट लिने भन्दै आएका थिए ।
तर मेस्सीले पहिलो पटक क्लब छाड्न खोजेको भने होइन । पहिले पनि छाड्न खोजेका थिए । अपजश बोक्न नखोज्ने अर्जेन्टाइन स्टार मेस्सीले अर्जेन्टिनी राष्ट्रिय टिमबाट पनि सन्यास लिएका थिए । तर त्यो पनि दवावका कारण टिकेन ।
यसरी अन्ततः मेस्सी बार्सिलोनाबाट खेल्ने भए । उनले शनिबार अभ्यास पनि गरेका छन् । अभ्यासका क्रममा उनले जिम्नास्टिक डे तार्रागोनासँग मैत्रिपूर्ण खेल पनि खेलेका छन् । उनले गोल नगरे पनि खेल ३–१ को अन्तरले बार्सिलोनाले जित्यो ।
अस्माने डेम्बेले, एन्टोइन ग्रेजम्यान र फिलिप्पे कौटिन्होले गोल गरे । कप्तान त मेस्सी नै थिए । यसपटक दवावबाट खेल्न थालेर लिगका सर्वाधिक गोलकर्ता त छँदैछ बार्सिलोनालाई उपाधि दिलाउलान् त ?
सबैका आँखा मेस्सीको खुट्टामा मात्र हैन बार्सिलोनाको टाउकोमा पनि पुगिरहेका हुनेछन् । किनकि बार्सिलोना लिगको शिरमा पुग्नुपर्नेछ उपाधि जितका लागि ।