arrow

नेपालबाट लिबिया जान लागेका शान्ति सेनामा संक्रमण, रोकियो उडान

logo
प्रकाशित २०७७ भदौ २९ सोमबार
nepal_army-us-mission.jpg

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिबियामा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार त्यसतर्फ जाने तयारीमा रहेको उडान स्थगन भएको छ । 

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार शान्तिस्थापनार्थ लिबिया जान लागेका ११६ शान्ति सैनिकमध्ये ३५ भन्दा बढीमा कोभिड–१९ पोजेटिभ देखिएपछि सोमबारका लागि तय भएको उडान स्थगन भएको हो । युनाइटेड मिसन गार्ड युनिटका रुपमा रहेको उक्त टोलीमा १७ महिला सैनिकको समेत सहभागिता  छ । 

काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा तालीम पूरा गरी चार महिनादेखि क्वारेन्टिनमा रहेका फौजमध्ये उडानपूर्व गरिएको पछिल्लो परीक्षणमा ती जवानलाई संक्रमण पुष्टि भएको जनाइएको छ ।   राष्ट्र सङ्घको शान्ति सैनिक बोक्ने विमान नेपाली शान्ति सैनिकलाई लिन गए राति आउने र सोमबारै बिहान टोली त्यसतर्फ जाने पूर्वनिर्धारित कार्यक्रम थियो । त्यसतर्फ जाने जवानमा आइतबार मात्र कोरोना अचानक पुष्टि भएपछि उडान स्थगन गर्नुपरेको जनाइएको छ । सन् २०१६  देखि लिबियामा नेपाली शान्ति सैनिक रहन लागेका हुन् जहाँ हाल २२९ नेपाली सैनिक तैनाथ छन् । 

संक्रमण देखिएका व्यक्तिको कन्टयाक टे«सिङ गरी उक्त टोलीमा रहने सबैको पुनः स्वास्थ्य परीक्षणपछि मात्र लिबियातर्फ जान उडानको मिति तय गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  
 
वैशाखमा नै लिबिया जानुपर्ने उक्त शान्ति सैनिकको टोली विश्वभर फैलिएको कोभिड–१९ का कारण चार महिना रोकिएको थियो । ती सैनिकमा परीक्षणपूर्व कुनै लक्षण नेखिएकाले आफैँमा ठूलो अनुसन्धानको विषय बनेको छ ।
 
यसअघि अहिलेकै प्रक्रिया अपनाएर क्वारेन्टिनमा बसी द्वन्द्वग्रस्त मुलुक माली, सेन्ट्रल अफ्रिकन रिपब्लिक र दक्षिण सुडानमा तैनाथ हुन गएका नेपाली शान्ति सेनामा भने कुनै संक्रमण पुष्टि भएको थिएन । यसैबीच पछिल्लो समय नेपाली सेनाका सकलदर्जामा कोभिड–१९ बाट संक्रमितको सङ्ख्या ह्वात्तै बढेको छ ।
 
यही भदौ १७ गतेसम्म ५०८ जनामा मात्र  पोजेटिभ पुष्टि भएकामा २८ गतेसम्म सो सङ्ख्या बढेर एक हजार ३८३ पुगेको प्रवक्ता पौडेलले जानकारी दिए । कोभिड–१९ बाट संक्रमित सैनिकमध्ये हालसम्म २९४ जना निको भएर घर फर्किसकेका छन् भने एक हजार ८९ जना कोरोनाका सक्रिय बिरामी हुन् ।



लोकप्रिय समाचार
नयाँ