काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) ठेकेदार समहु अनन्तः कालोसूचीमा परेको छ ।
प्रधानमन्त्री ओली र उनका सचिवालयका सदस्यहरुको आडमा स्वास्थ सामग्री खरिदमा गरेको हेलचक्र्याईका कारण बदनाम ओम्नी समुहलाई अनन्तः सरकारले कालोसूचीमा राखेको हो ।
कोरोना महामारीका बेला आवश्यक स्वास्थ सामग्री खरिदमा स्वास्थ सेवा विभागसँगको सम्झौता अनुसार काम नगरेको र ठुलो रकम घोटाला गरेको भन्दै पछिल्लो समय विवादित बनेको ओम्नीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै ओम्नी सहीतका अन्य कम्पनी पनि कालोसूचीमा राखिएको जानकारी गराएको हो ।
कालोसूचीमा परेसँगै ओम्नीले आगामी एक वर्षसम्म कुनै पनि सार्वजनिक खरिदमा सहभागी हुन नपाउने भएको छ ।
ओम्नीसँगै वीटी निर्माण सेवा, टौदह कन्स्ट्रक्सन र फस्कु निर्माण सेवालाई पनि सामुहिक कालोसूचीमा राखएिको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
त्यस्तै अरुण कन्स्ट्रक्सनलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खदिर अनुगमन कार्यालयले जनाएको छ ।
ओम्नी समुह स्वास्थ सेवा सम्बन्धि वस्तुको आपूर्ति प्रकरणमा मुछिएको कम्पनी हो भने अन्य कम्पनी निर्माणको कार्यमा संलग्न कम्पनी हुन् ।
प्रधानमन्त्री ओली र सचिवालयकै आडमा ओम्नीले नेपाल टेलिकम र जनक शिक्षा सामग्रीका ठेक्का पनि हत्याएको थियो ।