काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार र सत्तारुढ दलले संविधान र संघीयता प्रणाली सिद्ध्याउन लागिपरेको आरोप लगाएका छन्। प्रदेश नम्बर १ मेची अञ्चल अन्तर्गतका नेताहरुसँगको जुम प्रशिक्षणका क्रममा नेता निधिले हामीले लडेर ल्याएको संविधान र संघीयता प्रणालीलाई फेल गराएर जनवादी शासन ब्यवस्था लाद्न यो सरकार लागि लागेको आरोप लगाए।
‘हामीले स्थापित गराएको समावेशी सिद्धान्त, राज्यको पुनसंरचना र संघीयताप्रति सरकार गम्भीर नभएको साथै प्रदेश सरकारको अधिकार खोसेर अधिनायकवादी बन्दै गएको छ,’उनले भने, ‘यो लोकतन्त्रका लागि यो ठुलो खतरा हो।’
उपसभापति निधिले पार्टीको आगामी महाधिवेशन राष्ट्रिय निर्वाचनका लागि शसक्त नीति र योजना बनाउन केन्द्रीत हुँदै कांग्रेसलाई विजयी गराउन केन्द्रीत हुनुपर्ने औंल्याए। ‘हामीले आगामी दुई बर्षभित्र राष्ट्रिय निर्वाचनका लागि योजना बनाउने मात्र होइन शासन प्रणाली जोगाउन पनि केन्द्रित हुनुपर्छ ।’उनले जनतालाई कांग्रेप्रति विश्वास दिलाउन र सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्न सबै कार्यकर्ताहरुलाई आब्हान पनि गरे।
उनले भने,‘कम्युनिष्ट सरकारले लोकतान्त्रिक शासन ब्यवस्थालाई सिद्ध्याउन लागिपरेकाले हामीले पार्टीलाई जिताउन र हामीले ल्याएको शासन प्रणालीलाई कस्तो बनाउने भन्ने बहस गर्नुपर्छ।’
नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजनमा झापा, इलाम, पाँचथर तथा ताप्लेजुङ जिल्लाका प्रशिक्षण शाखाहरुले आयोजना गरेको कार्यक्रममा मेचीका केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरु, महासमिति तथा महाधिवशेन प्रतिनिधि लगायत भातृ संस्था समेतका नेताहरु सहभागि रहेका थिए । नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री श्री कृष्ण प्रसाद सिटौला तथा प्रवक्ता विश्व प्रकाश शर्मा लगायतले प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका थिए । साथै बिभिन्न ब्यक्तिले प्रशिक्षण समेत दिएका थिए।