arrow

डायलासिस गराइरहेका ६ बिरामीसहित चिकित्सकमा संक्रमण

logo
प्रकाशित २०७७ भदौ २९ सोमबार
corona-test-kit.jpg

सप्तरी । कोभिड–१९ अस्पताल सञ्चालन गरिरहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक र डायलासिसका बिरामीमा सोमबार कोरोना संक्रमण देखिएको छ ।

अस्पतालको प्रयोगशालमा सोमबार गरिएको परीक्षणअनुसार कार्यरत २८ वर्षीय चिकित्सक र डायलासिस सेवा लिइरहेका छ पुरुष बिरामीमा कोरोना संक्रमण देखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले बताए ।

डायालासिस सेवा लिइरहेका महादेवा गाउँपालिका–४ का २७ वर्षीय, सुरुङ्गा नगरपालिका–१ का ८५ वर्षीय, वडा नम्बर–३ का ५८ वर्षीय, खडक नगरपालिका–३ का ३५ वर्षीय र बिष्णुपुर गाउँपालिका–६ का उमेर नखुलेका पुरुष तथा सिरहाको गोलबजार नगरपालिका–१२ का ६५ वर्षीय पुरुष बिरामीमा कोरोना संक्रमण देखिएको छ । डायलासिस सेवा लिइरहेका राजविराज नगरपालिका–४ का एक बिरामी र राजविराज–६ का एक नर्समा १० दिनअघि संक्रमण देखिएको थियो । 

अस्पतालका चिकित्सक र बिरामीसँगै अस्पतालमा कार्यरत ४० वर्षीय शल्यक्रिया सहायक र अस्पताल प्रहरी बिटमा कार्यरत २५ वर्षीय प्रहरीमा समेत संक्रमण देखिएको अस्पतालले जनाएको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ का ५० वर्षीय क्यान्सर पीडित, उहाँकी ४५ वर्षीया श्रीमती र २५ वर्षीया छोरीमा समेत संक्रमण देखिएको छ । भैरहवामा कार्यरत डाक्टर तिलाठी कोइलाडी गाउँपालिका– ४ का २८ वर्षीय पुरुष, राजविराजस्थित कर कार्यालयका ३१ वर्षीय कर्मचारीमा पनि संक्रमण देखिएको अस्पतालले जनाएको छ । 

राजविराज–६ का १७ वर्षीया महिला र वडा नम्बर–७ का ३२ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । सोमबार जिल्लामा थप भएका १५ जनासहित संक्रमित हुनेको सङ्ख्या १७४ महिलासहित एक हजार ३३ पुगेको छ । संक्रमितमध्ये ७३६ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । सोमा १०५ महिला छन् । सप्तरीमा हालसम्म एक महिलासहित आठको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
नयाँ