काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा पूर्व च्याम्पियन चेल्सीले शानदार सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा लण्डन क्लबले ब्राइटन एन्ड होभ आल्बियनमाथि ३–१ गोल अन्तरको सहज जित निकालेको हो ।
ब्राइटनको घरेलु मैदानमा चेल्सीको जितमा जोर्गिन्हो, रिस जेम्स र कर्ट जुमाले एक एक गोल गरे । घरेलु टोलीका लियान्ड्रो ट्रोसार्डले एक गोल फर्काएका थिए ।
चेल्सी प्रशिक्षक फ्रयांक लाम्पार्डले दुई नयाँ खेलाडी टिमो वार्नर र काइ हाभर्ट्जलाई पहिलो रोजाईमा राख्दै मैदान उतारेका थिए ।
यसपटक चेल्सीले खेलाडी सरुवा बजारमा ठूलो रकम खर्चिएको छ ।
सोमबार रातिको अर्को खेलमा वुल्भर ह्याम्पटन वान्डेरर्सले शेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
राउल जिमेनेज र रोमेन साइसले १–१ गोल गरे ।
शुक्रबारदेखि सुरु भएको लिगमा पहिलो चरणको खेल समेत सकिएको छैन ।