काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद रामहरि खतिवडाले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारप्रति गम्भीर कटाक्ष गरेका छन् ।
सरकारले गरेका गलत कामको चर्चा भइरहँदा उनले ‘सरकारले आफूलाई काम गर्न जे सजिलो हुन्छ त्यही गर्ने हो’ भन्दै कटाक्ष गरेका छन् ।
उनले सामाजिक संजाल ट्वीटरमा मंगलबार लेखेका छन्, ‘अहिले देशमा वामदेवको आवश्यक पर्यो अनि वहाँलाई माननीय बनाउन राष्ट्रपतिकोमा सिफारिस’, बत्ती बलेकै छ किन चाहियो कुलमान ? अख्तियार खाली भो अब गोकुल, यती र ओम्निलाई चोख्याउने मान्छेको खोजीमा हुनुहुन्छ इमानदार प्रधानमन्त्री !’
यी विषयहरुमा सरकार इतर पक्षले गम्भीर रुपले बहस गरिरहेको छ । नागरिक समाजले समेत पनि प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को विरोध गरिरहेको छ ।
झण्डै दुई तिहाई समर्थनको बलियो सरकारले भ्रष्टाचार बाहेक केही पनि नगरेको गम्भीर आरोप लागिरहेको छ । आरोपलाई प्रधानमन्त्रीका व्यवहारले प्रमाणित गरिरहेका छन् ।
जतिसुकै प्रमाणित भए पनि कार्वाही गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरु भने सरकारकै भजन गाउनमा र आफूहरुलाई चोख्याउन दिएका काम मात्र गरिरहेको आरोप लाग्दै आएको छ ।