काठमाडौं । बुधबार बिहानै गएको ६ रेक्टर स्केलको भूकम्प २०७२ साल बैशाख १२ गतेकै गोरखा भूकम्पको पराकम्पन रहेको छ ।
गोरखा भूकम्पमा आएको ७.६ रेक्टर स्केलको भूकम्पपछि आएका हजारौं पराकम्पनमध्ये पछिल्लो समय सबैभन्दा ठूलो पराकम्पन भएको पनि भूकम्पविद् लोकविजय अधिकारीले बताएका छन् ।
उनका अनुसार बर्खामास भएकाले गर्दा यसले थप जोखिम पुर्याउन सक्नेछ ।
उनले यो भूकम्पको धक्का स्याङजाभन्दा अझ पश्चिमसम्म पनि महसुस गरिएको बताए । यसले मध्यपूर्वका साथै पश्चिमसम्म धक्काको महसुस गराउँदा २०७२ को भूकम्पले नै ठूलो क्षति बेहोरेका सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा फेरि असर पारेको छ ।
सिन्धुपाल्चोकमा त्यही भूकम्पले कमजोर बनाएको जमीनले गर्दा पटक पटक पहिरो जाँदा थुप्रैको ज्यान गएको अवस्थामा बुधबार गएको भूकम्पको पराकम्पनले थप क्षति पुगेको आशंका गरिएको छ ।
सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दू भएर बुधबार बिहान ६ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको थियो ।
गोरखा भूकम्पले ९ हजार भन्दा बढीको ज्यान लिएको थियो भने हजारौं घाइते भएका थिए । गोरखा भूकम्पले पुर्याएको क्षतिपछि पुनर्निर्माण अहिलेसम्म पूरा भएको छैन ।