काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद डा. चन्द्र भण्डारीले संकटका बेलामा सरकार गलत गतिविधिमा लागेको भन्दै आक्रोश पोखेका छन् ।
बुधबार बिहानै सामाजिक संजाल फेसबुकमा उनले कोरोना भाइरसको महामारीले जनजीवन नै अस्तव्यस्त भएका बेलामा केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकार आफ्ना नेता तथा कार्यकर्ता पोस्नमै लागेको भन्दै आक्रोश पोखेका हुन् ।
नेता भण्डारीले परिस्थितिले संकटको सामना गर्नुपर्ने बनाएका बेलामा सरकार भने नेताहरुलाई पोस्न प्रतिष्ठान बनाएर सर्प पाल्न करोडौं रुपैयाँ निकासा गर्नमा लागेको बताएका छन् ।
उनले लेखेका छन्, ‘कोरोनाले मानिसलाई बन्दी बनाएको छ ।अक्सिजनको अभाव हुदैछ । औषधी बनिसकेको छैन । भूकम्पले अझै छोडेको छैन । बाढी पहिरो मानिस भन्दा अगाडि छ तर पनि घर घरमा झगडा ,गाउँ गाउँमा झगडा , पार्टीमा झगडा, सरकारमा झगडा, मन भित्र आफैमा झगडा । सबैको टाउकामाथि डर त्रास घुमिरहेको छ ।’
उनले अगाडि लेखेका छन्, ‘अर्कोतिर टुडिखेलमा खाना खानेको लाइन छ । यस्तो अवस्थामा पनि जिउँदा नेताको नाममा प्रतिष्ठान बनाएर सर्प पाल्नको लागि करोडौं निकासा । लुटमा अख्तियार साक्षी । पैसामा पाटी भित्रको झगडाको बिसर्जन । संकटमा जनता हेर्ने की सर्प पाल्ने ? त्यसैले त कोरोनाले लाज छोप्न मुखमा मास्क लगाई दिएको छ ।’