काठमाडौं। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.१३ मा रहेको टाईगर वान प्राली (प्यालेस)का क्यासिनोका जनरल म्यानेजर अस्ट्रेलियन नागरिक केविन जोन उईलरोक्स नेपालको कानुन विपरित नेपालमा रहेको खुलेको छ।
विगत १ वर्षदेखि सञ्चालनमा रहेको उक्त क्यासिनोका जनरल म्यानेजर उईल रोक्सको यसअघि नै प्रवेश आज्ञा (भिसा)को म्याद सकिसकेको छ। नेपालको कानुन अनुसार प्रवेश आज्ञा (भिसा) चाहिने भएपनि उनी म्याद सकिएको भिसाले नै नेपालमा बसेर नेपाली माथि श्रमशोषण गरिरहेको खुल्नमा आएको हो। पर्यटक भिसामा नेपाल आएर उईलरोक्सले वर्क परमिट समेत नलिएरै प्यालेसमा रहेको क्यासिनोको जनरल म्यानेजरका रुपमा काम गरिरहेका छन्।
केही दिन अघि मात्रै उनले ३ सय ९३ जना नेपाली कर्मचारी तथा कामदारहरुलाई टाईगर वान प्राली (प्यालेस)बाट निष्काषन समेत गरेका थिए । जबकी सो प्रालीले वर्कपरमिट नलिएरै काम गरिरहेका विदेशी कर्मचारीलाई काममा निरन्तरता दिएको छ। नेपाली कर्मचारीलाई भने कोरोना महामारीका कारण व्यवसाय चौपट भएकोले तलब दिन नसक्ने भन्दै उनले कामबाट निकालेका थिए । कामबाट निकालिएका कर्मचारीहरुले पुनर्वहालीको माग गर्दै आन्दोलन गरिरहेका छन्।
गत सोमवार नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ प्रतिष्ठानस्तरको ट्रेड युनियन, एसएचएल म्योनजमेन्ट सर्भिसेस (केटीएम) प्राली आधिकारिक युनियन उपकमिटी भैरहवाले जिल्लास्थित जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय रुपन्देही, अध्यागन कार्यालय भैरहवा रुपन्देही, श्रम कार्यालय बुटवल र तिलोत्तमा नगरपालिकाको कार्यालय मणिग्राम रुपन्देहीमा आवश्यक छानविन गरी पाउँ भनी निवेदन समेत दिइसकेको छ।
के भन्छ अध्यागमन विभाग?
रुपन्देहीमा रहेको टाईगर वान प्राली (प्यालेस)का क्यासिनो जनरल म्यानेजर अस्ट्रेलियन नागरिक केविन जोन उईलरोक्सका सम्बन्धमा अध्यागमन विभागले बुझिरहेको र कानुनी प्रक्रिया अनुसार अघि बढ्ने महानिर्देशक रमेशकुमार केसीले बताए । ‘तपाईले भन्नु भएको रुपन्देहीको टाईगर वान प्राली (प्यालेस)का क्यासिनोका सम्बन्धमा मैले पनि सुनेको छु । हामीले बुझिरहेका छौं’ उनले भने, ‘सिडियोसँग पनि समन्वय भइरहेको छ । भिसा सकिएर कानुन अनुसार नविकरण नगरेमा अध्यागमन ऐन अनुसार कारवाही प्रक्रिया अगाडी बढ्छ ।’
अध्यागमन विभागले भिसा सकिएर नेपालमा रहेका अन्य विदेशीलाई समेत भिसा नविकरण गर्न अनुरोध गरेको छ । मंगलबारसम्मको नविकरण रोकिएपनि बुधबारदेखि नविकरणको काम खुला भइसकेकाले नविकरण गर्न विभागले आग्रह गरेको हो । विभागका महानिर्देशक रमेशकुमार केसीले मंगलबारसम्म नविकरणको काम रोकिएपनि बुधबारदेखि खुला गरेकाले नविकरण गर्न आग्रह गरे।