काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका–२ बरदाही बननिया घर भई काठमाडौं बत्तिसपुतली बस्दै आएका पूर्व प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको एक सय वर्षको उमेरमा निधन भएको छ ।
ओम अस्पताल काठमाडौँमा मङ्गलबार राति मृत्यु भएका सिंहको शवलाई बुधबार काठमाडौंस्थित पशुपति आर्यघाटमा दाहसस्ंकार गरिएको परिवारका सदस्यले जानकारी दिएका छन् ।
सर्वोच्च न्यायालयका प्रधानन्यायाधीश हरिप्रसाद प्रधानपछि सर्वोच्च अदालतका पहिलो प्रधानन्यायाधीश बनेका सिंह टङ्कप्रसाद आचार्यको मन्त्रीमण्डलमा पहिलोपटक कानून तथा संसदीय प्रबन्धमन्त्री पनि भए ।
उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रथम प्रमुख आयुक्त र लोक सेवा आयोगका प्रथम अध्यक्ष समेत बने । सरकारी सेवामा २००३ सालदेखि बडाहाकिमको पदबाट सेवा शुरु गर्दा सिंहको उमेर २७ वर्षको थियो भने प्रधानन्यायाधीश हुँदा ३७ वर्ष मात्र थियो ।
सिंह नेपालमा सबैभन्दा कम उमेरमा प्रधानन्यायाधीश हुने व्यक्ति पनि हुन् । उनी पछि राजपरिषद् र राजसभाको स्थायी समितिको सभापति समेत बने ।
सिंहकै पालामा नेपाल कानून पत्रिकाको प्रकाशन शुरु भएको थियो भने सर्वोच्च अदालतको हालको भबन पनि उहाँकै कार्यकालमा निर्माण भएको अधिवक्ता रामनारायण देवले बताए ।
राजा महेन्द्रले २०१९ असोज ६ गते दरबारभित्र खडा गरेको विशेष जाहेरी विभागको मुख्य पदाधिकारीमा पूर्व प्रधानन्यायाधीश सिंहलाई नै राखेका थिए । सिंहको श्रीमति र नेपाली सेनामा चिकित्सक रहेका एक मात्र छोराको निधन भएपछि काठमाडौं बत्तिसपुतलीमा उनी सहयोगीसहित बस्दै आएका थिए ।