काठमाडौं । भारतमा एकैदिन बुधबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । बुधबार ९७ हजार ८५६ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि गत ११ सेप्टेम्बरमा ९७ हजार ७५४ जना संक्रमित थपिएका थिए ।
योसँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ५१ लाख १५ हजार ८९३ पुगेको छ । सक्रिय संक्रमित १० लाख ९ हजार ८८६ जना रहेका छन् ।
निको हुनेको संख्या बुधबार ८२ हजार ९२२ रह्यो । योसँगै निको हुनेको संख्या ४० लाख २२ हजार ४९ पुगेको छ ।
बुधबार १ हजार १४० जनाको ज्यान गयो । अहिलेसम्म भारतमा ८३ हजार २३० जनाको ज्यान गइसकेको छ ।
भारतमा दैनिक ९० हजार भन्दा बढी कोरोनाका संक्रमित बढ्दै गए पनि सबै क्षेत्र खुल्ला भएको छ । विद्यालयहरु समेत खुल्ने तयारी भइरहँदा भारतको स्थिति झनै भयावह बन्ने देखिएको छ ।