पाँचथर । रैथाने सांस्कृतिक सम्पदाहरुको अस्तित्व रक्षा गर्दै तिनको पुनःस्थापना तथा प्रवद्र्धन गर्न पाँचथरमा सांस्कृतिक पुनर्जागरण अभियान संचालन गर्न सांस्कृतिक पुनर्जागरण अभियान मूल समिति गठन गरिएको छ ।
मधुराज केरुङको संयोजकत्वमा सांस्कृतिक पुनर्जागरण अभियान मूल समिती मंगलबार गठन गरी बुधबार जानकारी गराइएको हो । सामाजिक सद्भाव र सहिष्णुता कायम राख्दै राज्यसत्ताको औपनिवेशीकरण रोक्न र रैथाने सांस्कृतिक सम्पदाहरुको अस्तित्व रक्षा गर्न उक्त समिति गठन गरिएको समिति संयोजक केरुङले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । विभिन्न उपसमति समेत गठन गरिएको छ ।
भेलाले २२ सदसीय चङ कमाण्ड –(मूल समिति) सहित विभागीय जिम्वेवारी सहितको सचिबालय समिति र १३ सदस्यीय तत्तु तुम्याङ गठन गरेको छ ।
यसअघि समूहगत रुपमा मात्रै सञ्चालन भएको आन्दोलनलाई व्यवस्थित र मर्यादित ढंगबाट अगाडि बढाउन संस्थागत स्वरुपमा परिवर्तन गरिएको अभियानकर्मीहरुले बताएका छन् ।
भेलाले सांस्कृतिक पुनर्जागरण मुल समितिले गतिविधि सञ्चालन गर्दा कुनै पनि जाति धर्म र सम्प्रदायप्रति पुर्वाग्रह राख्न नपाउने, सामाजिक सद्भावमा खलल पुग्नेगरी सामाजिक सञ्जालमा आफुखुशी जे पायो त्यहि पोष्ट गर्न नमिल्ने, गोपनियता भंग गर्न नपाइने लगायत बुँदा समेटिएको आचार संहिता गठन गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
समितिले अपभ्रंश गरिएका स्थान बिशेषका नाम सच्याउनका साथै विभिन्न कोणबाट भएको सास्कृतिक अतिक्रमण रोक्न आपसी सामाजिक सद्भाव र सहिष्णता कायम राख्दै राज्यसत्ताको औपनिवेशिकरण रोक्न र रैथाने सास्कृतिक सम्पदाको अस्तित्व रक्षा गर्दै तिनको पुनःस्थापना तथा प्रबर्धन गर्न सांस्कृतिक पुनर्जागरण अभियान सञ्चालन गर्ने प्रेस विज्ञप्ति मार्फत स्पष्ट पारेको छ ।