काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ ।
मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको जानकारी दिएका हुन् ।
चापागाईंले मन्त्रिपरिषदले प्राधिकरणको आवश्यकता र जनभावनाको कदर गर्दै मन्त्रिपरिषदले घिसिङलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने विश्वाससमेत व्यक्त गरेका छन् ।
‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ’, चापागाईंले भने, ‘अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषदले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।’
चापागाईंले मन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेरै घिसिङको मात्र नाम मन्त्रिपरिषदमा प्रस्ताव गरिएको स्पष्ट गरे ।
गत भदौ २९ गते कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल सकाएका घिसिङको प्राधिकरणले औपचारिक बिदाईसमेत गरेको थियो ।
घिसिङले चामत्कारिक रुपमा नेपालबाट लोडसेडिङको अन्त्यमात्र गरेका थिएनन् घाटाको विद्युत प्राधिकरणलाई नाफामासमेत लगेका थिए ।
उनलाई पुनः कार्यकारी निर्देशक बनाउन चौतर्फी दवाव बढेको छ । नागरिक तहबाट उनलाई पुनः कार्यकारी निर्देशक बनाउन जुलुससमेत हुन थालेका छन् ।
कुलमानलाई प्रचण्ड प्रधानमन्त्री हुँदा तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले विद्युत प्राधिकरणमा ल्याएका थिए ।