कालिकोट । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० हजारको हाराहारीमा पुगिसकेको छ । अहिलेसम्म ३८० को ज्यान गइसकेको छ । त्यसैगरी ४२ हजारको संख्यामा कोरोनामुक्त भएका छन् ।
तर बुधबारमात्रै अहिलेसम्मकै सबैभन्दा बढी १३ सय ३९ संक्रमित थपिए । काठमाडौं उपत्यकामा मात्रै ७३७ संक्रमित थपिए ।
सरकारले बिहीबारदेखि सबै यातायात खोलेको छ । जुनसुकै जिल्लाबाट नेपालभर जान सकिने छ । कुनै प्रतिवन्ध छैन ।
यसैबीच कोरोना मुक्त हुने जिल्लाहरु पनि छन् । अहिलेसम्म ६ जिल्ला कोरोनामुक्त भएका छन् । सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र कालिकोट कोरोनामुक्त भएका छन् ।
पछिल्लो पटक मुक्त भएको जिल्ला कालिकोट हो । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको हो ।
कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताए ।
कालिकोटमा हालसम्म ५ हजार ६९० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको र दुई हजार ६६१ जनाको आरडिटी विधिबाट कोरोनाको परीक्षण गरिएकामा १०० जनामा कोरोना सङ्क्रमण देखिएको निमित्त व्यवस्थापक महतले जानकारी दिए ।
जिल्लाका नौ स्थानीय तहमध्ये पचालझरना गाउँपालिकाबाहेकका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणका बिरामी भेटिएको महतले बताए । कालिकोटमा कोभिड–१९ को उपचारका लागि १०० शय्याको अस्पताल निर्माण भएको छ । कोरोनाका बिरामी भेटिए अब त्यसैमा उपचार गरिनेछ ।