काठमाडौं । भारत सरकारले आन्तरिक आपूर्ति व्यवस्था सहज बनाउ प्याज निर्यातमा कडाई गरेसँगै भारतबाट नेपालमा हुने प्याजको आयात रोकिएको छ ।
भारत सरकारले गत सोमबार देखि प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै सोमबार देखि नै मंगलबार देखि नै प्याज आयात रोकिएको हो ।
नेपालमा सबै भन्दा बढी आयात हुने प्रमुख नाका वीरगञ्जबाट प्याज आयात रोकिएको
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले बताए । ‘भारतले रोकेपछि छैन आयात भएको’ साहले भने ।
काठमाडौं उपत्यकामा आउने प्याजको अधिकांश हिस्सा वीरगञ्ज भन्सार नाकाबाटै आउने गरेको कालीमाटी फलफुल तथा तरकारी बजार व्यवस्थापन समितिले जानकारी दिएको छ ।
त्यसपछि भैरहवा भन्सार हुँदै कालीमाटी फलफुल तथा तरकाी बजारमा प्याज आयात हुने गरेको छ ।
भैरहवा नाकाबाट पनि सोमबारयता प्याजको आयात नभएको भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ ।
यस अर्थमा काठमाडौं उपत्यकामा यसअघि देखि नै कारोबार भइरहेको प्याजको मूल्य बढाएर बिक्री वितरण भइरहेको सहजै बुझ्न सकिने उपभोक्ता अधिकारर्मी माधव तिमिल्सिना बताउँछन् । ‘पुरानै प्याज लुकाएर मूल्य बढी लिएर बिक्री गरिरहेको अनुमान सहजै गर्न सकिन्छ’ तिमिल्सिनाले भने, ‘बुधबार काठमाडौं महानगरपालिकाको अनुगमन समितिले गरेको अनुगमनबाट पनि प्याज लुकाएर बिक्री गरिराखेका छन् भन्ने पाइएकै हो ।’
कालीमाटीमै झण्डै दोब्बरले बढ्यो मूल्य
भारतले गत सोमबार प्याज निर्यातमा प्रतिबन्ध लगाउनुपूर्व कालीमाटी फलफुल तथा तरकारी बजारमा भारतीय सुकेको प्याजको थोक मूल्य औषत ६० रुपैयाँ प्रतिकेजीका दरले रहेको थियो ।
बिहीबार प्याजको थोक मूल्य झण्डै दोब्बरले बढाउँदै व्यवसायीले १ सय १० रुपैयाँ प्रतिकेजीका दरले बिक्री गरिरहेका छन् । बिहीबार मालीमाटी फलफुल तथा तरकारी बजारमा सुकेको भारतीय प्याजको थोक मूल्य औषत १ सय १० रुपैयाँ प्रतिकेजी कायम गरिएको छ ।
खुद्रा बजारमा उपभोक्ताले १ सय ३० रुपैयाँ प्रतिकिलो सम्म खरिद गर्नुपरेको छ । गत सोमबार मात्रै खुद्रा बजारमा प्याजको उपभोक्ता मूल्य प्रतिकिलो ७० रुपैयाँसम्म रहेको थियो ।
कालीमाटी फलफुल तथा तरकारी बजार व्यवस्थापन समितिले कालीमाटीमा खुद्रा मूल्यसूची भने नदेखिने बनाएको छ । यस विषयमा समितिका सूचना अधिकारी विनय श्रेष्ठले आफु उपत्यका बाहिर रहेको र आफुलाई थाहा नभएको बताए ।
अनुमगन नियमित
यता बजार अनुगमनको मूख्य जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन नियमित गरिने बताएको छ ।
विभागका सूचना अधिकारी रविन्द्र आचार्यले प्याजमा अनुगमन नियमित भइरहेको बताए । कालोबजारी गर्ने, बढी मूल्य लिने, प्याज लुकाउने गरी हालसम्म ७ जना व्यवसायीलाई विभागले जरिवाना गरिसकेको बताउँदै आचार्यले अनुगमन नियमित भइरहने बताए । ‘लुकाउने, बढी मूल्य लिन लगायतका विभिन्न कसुरमा ७ व्यवसायीलाई जरिवाना गरेका छौं’ आचार्यले भने, ‘उनीहरुलाई ५ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गरेका छौं । केही समयमा सार्वजनिक गर्छौं ।’
यसअघि गत वर्ष असोजमा पनि भारत सरकारले आन्तरिक रुपमा प्याजको आपूर्ति व्यवस्था सहज बनाउन प्याज निर्यातमा रोक लगाएको थियो ।
गत वर्ष भारतमा प्याजको उत्पादन न्युन भएर हाहाकार भएपछि निर्यातमा प्रतिबन्ध लगाएको भारतले यस वर्ष भने किसानले प्याज उत्पादन उल्लख्य रुपमा बढेको बताइरँदा पनि प्याज निर्यातमा कडाई गरेको छ ।