काठमाडौं । भारतले प्याज निर्यात प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको कालोबजारी सुरु भएको छ ।
विशेष गरी काठमाडौं उपत्यकामा यसअघि नै आयात भएको प्याजलाई महंगोमा बेच्ने उद्येश्यले व्यापारीले लुकाएर राख्ने गरेको भेटिन थालेको हो ।
सोमबार देखि भारतले गरेको निर्यातको बहानामा काठमाडौंका तरकारी व्यवसायीले मंगलबार देखि नै प्याजको मूल्य बढाउन थालेका थिए ।
अझ बढी नाफा कमाउने उद्येश्यले प्याज लुकाएर नै राख्न थालेको पनि भेटिन थालेको हो ।
काठमाडौं महानगरपालिकाले बिहीबार बिहान गरेको अनुगमनका क्रममा काठमाडौं तिनकुनको हरितगृह सहकारीमा ४२ बोरा प्याज लुकाएको भेटिएको हो ।
महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनका क्रममा सहकारीमा विशेष गौतमले सञ्चालन गरेको पसलमा २९ बोरा प्याज र ज्योतिनाथ उलवले सञ्चालन गरेको उलव सब्जी भण्डारमा १३ बोरा प्याज लुकाएर राखेको भेटिएको हो ।
महानगरका उपमेयर हरिप्रभा खड्की संयोजक रहेको समितिसँगै अनुगमनमा रहेका उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले दुवै पसलले आलुको बोराले प्याज लुकाएको फेला परेको जानकारी दिए ।
दुवै पसलमा आलुको बोरामुनी लुकाएर राखेको ४२ वटा बोरा प्याज प्रहरीसँगको समन्वयमा बरामद गरिएको तिमिल्सिनाले बताए ।
उनीहरुले ६५ देखि ७५ रुपैयाँ प्रतिकिलोका दरले प्याज खरिद गरेर १ सय १० रुपैयाँ देखि १ सय ३० रुपैयाँ प्रतिकिलोसम्म बिक्री गरेको समेत भेटिएको थियो ।
अत्यधिक मूल्य लिएको भन्दै उनीहरुलाई बाँकी कारवाही प्रक्रिया अगाडी बढाउन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको जिम्मा लगाइएको छ ।
आवश्यक कागजात सहीत वाणिज्य विभागमा उपस्थित हुन निर्देशन दिइएको तिमिल्सिनाले बताए ।
विभागले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाही प्रक्रिया अगाडी बढाउने छ ।