arrow

छ महिनासम्म पनि गर्न सकेनन् अनलाइन टिकेटको व्यवस्था, यातायात खुलेसँगै बढ्यो कोरोना जोखिम

सरकारी निरिहिता र यातायात व्यवसायीको लापरवाही

logo
पीबी चन्द,
प्रकाशित २०७७ असोज १ बिहिबार
tikat-Agreem-Bus-Ticket-Kat.jpeg

काठमाडौं । यातायात व्यवसायीले परार (२०७५ साल)कै दशैंमा केही यातायात समितिका सवारी साधनमा यात्रा गर्दा अनलाईनबाटै  टिकेट बुकिङ गर्ने अवधारणा ल्याएका थिए । अवधारणा मात्रै ल्याएनन् । एक दुई वटा समितिले त अनलाईन टिकेट काट्ने व्यवस्था पनि गरे । तर, सबै समितिमा कडाईका साथ कार्यान्वयन भएन ।

सरकारले बिहीकार (आज) देखि लामो दुरीका सहीत सबै सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको छ । योसँगै गाउँ फर्किनेहरु टिकेट काट्न आँत्तुर छन् । तर, कोरोना भाइरसबाट जोगिनको लागि सरकारी मापदण्ड छ यात्रुले निश्चित दुरी कायम गर्नुपर्ने ।

विगतका वर्षहरुमा जस्तै टिकेट काट्दा घुँईचो हुने निश्चित नै छ । किन कि दशैं तिहार जस्ता चाडपर्व नजिक छन् । सबैलाई गाउँ फर्किनु छ । टिकेट काट्ने व्यवस्था बसपार्क पुगेरै नै हो ।

६ महिना खेर

कोरोनाको जोखिम कम गर्ने उदेश्यले सरकारले गत चैत ५ गते देखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन हुन दिएन ।

११ चैत देखि गरिएको लकडाउनका कारण त्यसयता छोटो र लामो दुरीका सवारी साधन ठप्प नै भए । लकडाउन र त्यसपछिको निषेधाज्ञाका सवारी साधन मात्रै होइन, सबै किसिमका व्यवसाय ठप्प थिए । सो अवधिमा धेरै व्यवसायले अनलाईन प्लेटफर्मको प्रयोग गर्दै आफ्नो विजनेशमा फड्को मारे । जस्तै मोबाइल बैंकिङमार्फत बैंकहरुले । लकडाउनयता मोबाईल बैकिङको सँख्या ह्वात्तै बढ्यो ।

खाद्यान्न तथा किरानाका सामान अनलाईनकै माध्यमबाट अर्डर गरी ढुवानी गर्ने प्लेटफर्महरु खडा गरिए । भुक्तानी सेवा प्रदायहरुको कारोबार यही बीचमा राम्रै फस्टायो ।

तर, यातायात व्यवसायीले भने दुई वर्ष अघि आफैंले अघि सारेको अनलाईन टिकेट काट्ने विषय ओझेलमा पारे । भविष्यमा फेरि यातायात सञ्चालन गर्नुपर्छ र सुरक्षाका उपाय अपनाउनु पर्छ भन्नेतर्फ न सरकारले ध्यान दियो न त व्यवसायीले नै ।

अनलाईन टिकेट काट्ने व्यवस्था भएमा यात्रुबाट अतिरिक्त रकम असुल्न नपाइने भएकाले व्यवसायीले लकडाउको ६ महिना लामो समयमा पनि अनलाईन टिकेट काट्ने व्यवस्था मिलाएनन् ।

यातायात व्यवसायीहरुलाई अनलाईन टिकेट काट्ने व्यवस्था मिलाउन निर्देशन दिने काममा सरकारको पनि निरिहिपन  देखियो ।

यातायात व्यवस्था विभागले यातायात व्यवसायीको प्रभावमा परी आफ्नो निरिहिता प्रकट गर्यो ।

सार्वजनिक यातायातका जानकार एवंम इन्जिनियर आशिष गजुरेल भन्छन् ‘सरकारले कोरोना भाइरस संक्रमणबाट जोगिन सार्वजिनक यातायात सञ्चालन निर्देशिका त ल्याएको छ । तर, मूख्य भीड हुने ठाउँ भनेको टिकेट काट्दा हो । त्यसका लागि अनलाईन टिकेट काट्ने व्यवस्था गर्नुपथ्र्यो । तर, सकेन ।’

अहिलेको चुनौती नै कोरोना संक्रमण बढ्नबाट के कसरी जोगिने रहेको भन्दै त्यसको विकल्प अनलाईन टिकेट काट्ने व्यवस्था नै रहेको गजुरेलको भनाई छ । ‘अनलाईन टिकेट र अनलाईनबाटै भुक्तानीको व्यवस्था भएको भए धेरै हदसम्म भीड कम हुन्छ’ उनले हाम्राकुरासँग भने, ‘इन्टरनेटको पहुँचमा हुनेहरुले आफ्ना आफन्तको समेत टिकेट काट्न सक्थ्ये । धेरै हदसम्म भीड कम हुन्थ्यो र कोरोना संक्रमणको जोखिम कम हुन्थ्यो ।’

लकडाउनका बीचमा पनि यातयात व्यवसायीले लुकीछिपी सवारी साधन सञ्चालन गरेकै थिए ।

त्यतिबेला पनि सार्वजनिक सवारीमार्फत गाउँफर्किनेहरुको लर्को देख्न पाइन्थ्यो । झन दशैं र तिहार नजिक आएसँगै गाउँ घर फर्किनेको सँख्या झन बढ्ने निश्चित नै छ ।

विगतका वर्षहरुमा दशैं तिहारका लागि गाउँ फर्किनेहरु टिकेट काट्न जाँदा बस पार्कमा देखिन भीड सानो हुँदैन्थ्यो । तर, विगतका वर्षहरुमा कोरोना संक्रमणको जोखिम र व्यक्ति व्यक्तिबीच दुरी कायम गुर्नपर्ने सरकारी मापदण्ड हुँदैन्थ्यो ।

यस वर्ष सरकारले कोरोना भाइरसबाट जोगिनकै लागि भनेर यात्रुबाट डेढ गुणासम्म बढी भाडा लिन पाउने व्यवस्था सहीत गाडीको एकातिर एक जना मात्रै यात्रु राख्न पाउने मापदण्ड बनाएको छ ।

तर, टिकेट काट्दा संक्रमण बढ्न सक्ने जोखिमतर्फ न यातायात व्यवसायी सतर्क देखिन्छन् न त सरकार नै ।

के भन्छन् व्यवसायी?

यातायात व्यवसायीले ६ महिना यातायात बन्द हुँदा के खाने, कसरी किस्ता तिर्ने भन्ने चिन्तामै रहेकाले अनलाइन टिकेट काट्ने व्यवस्था गर्नेतर्फ सोच्न समेत नसकिएको प्रतिक्रिया दिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले भोको पेटले कसरी सेवा दिने भन्ने सोच्न नसक्ने बताए । ‘अनलाईन टिकेट काट्ने व्यवस्था मिलाउने भन्या छ । इलेक्ट्रोनिक टिकेटिङको सिस्टम गर्दै छौं । अनलाईन अलिकति टाइम लाग्ने रहेछ’ उनले भने, ‘विगत ६ महिनामा अनलाईन टिकेटिङ गर्ने कुरा सोच्न पनि सकिएन । पहिला त कसरी बाँच्ने, कसरी बैंकको किस्ता तिर्ने टेन्सन थ्यो । पहिला त सरकारले सुहलियत गर्नुप¥यो नि ।’

यता यातायात व्यवस्था विभागले अनलाईन टिकेट काट्ने व्यवस्था मिलाउने लगायतका विषयमा यातायात व्यवसायीसँग छलफल भइरहेको जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ