काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार २४६ जनामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ६४१ जनाको पिसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । योसँगै कूल संक्रमितको सङ्ख्या ५९ हजार ५७३ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए।
कोरोना संक्रमणबाट २४ घन्टामा थप ४ को मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र १ जना पुरुष रहेका छन् । मृतक महिलामा मोरङकी ६४ वर्षीया, चितवनकी ३६ वर्षीया र कैलालीकी ५७ वर्षीया रहेकी छिन् । त्यसैगरी काठमाडौँका ८७ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ।
त्यसैगरी पछिल्लो २४ घण्टा एक हजार २४३ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको सङ्ख्या ४२ हजार ९४९ जना पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये निको हुनेको प्रतिशत ७२ रहेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार देशभर १६ हजार २४१ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा सात हजार ९०३ जना रहेका छन् भने होम आइसोलेसनमा आठ हजार ३३८ जना छन् । यस्तै क्वारेन्टिनमा सात हजार ८८३ जना रहेका छन् । त्यस्तै काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, सिराहा, मकवानपुर, चितवन र रुपन्देहीमा सक्रिय संक्रमितको सङ्ख्या ५०० बढी रहेको मन्त्रालायले जनाएको छ । मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय संक्रमितको सङ्ख्या शून्य रहेको छ ।