काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको हो ।
महासचिव विष्णु पौडेलका अनुसार बैठक आइतबार सम्मका लागि सारिएको छ । पहिलो पटक तत्कालीन माओवादी केन्द्रको मुख्यालय रहेको पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो ।
पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्षको अधिकार पाएपछि बैठक पेरिसडाँडामा डाकेका थिए ।
पहिलो गाँसमै ढुङ्गा लागेको छ । बैठक सजिलै बस्न सकेन । आइतबारका लागि सारिएको छ ।
यसअघिका धेरैजसो बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाक्दै आएका थिए ।
यसको सर्वत्र विरोध भए पनि ओलीले बालुवाटारमै बैठक डाके । स्थायी कमिटी बैठकसमेत बालुवाटारमै बस्यो ।
तत्कालीन एमालेका नेताहरु धुम्बाराहीमा बैठक बस्नुपर्नेमा जोड दिने गरेका थिए । विशेष गरी माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरुले धुम्बाराहीमा बैठक डाक्नुपर्ने बताए पनि ओली निकटका नेताहरुलाई बालुवाटार प्यारो हुँदै आएको छ ।
तर तत्कालीन माओवादीका नेताहरु पेरिसडाँडालाई माया मान्दै आएका छन् ।
एमाले र माओवादीको एकतापछि पहिलोपटक पेरिसडाँडामा बैठक बस्न खोजे पनि अवरोध भएको छ ।
स्थलले प्यारो मान्ने नेताहरुबीच पार्टी पूर्ण एकतामा जाने सम्भावना नरहेकाले यसले ठूलो अर्थ राख्ने तत्कालीन एमाले (नेकपाका केन्द्रीय सदस्य) का नेताले बताए ।
पेरिसडाँडा बैठकमा पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने बताइएको छ । तर नेताहरुको मन भने अझै सफा नभएको स्पष्ट छ ।
यसअघि प्रधानमन्त्री ओलीले आफूलाई पार्टी नेतृत्व र सरकारबाट हटाउने चलखेल भएको भन्दै आफू निकटका कार्यकर्तालाई एमाले व्यूँताउनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्नसमेत लगाएका थिए ।
यद्यपि यो विषय अहिले मत्थर भएको छ । ओली र प्रचण्डले तयार गरेको कार्यदलको सुझावअनुसार ओलीले सरकार चलाइरहन पाउने म्यान्डेट पाएका छन् ।
तर यो सहमति लामो समयसम्म नटिक्ने दावी स्थायी कमिटी सदस्यहरुले गर्दैै आएका छन् ।