काठमाडौं । सत्याग्रही डा गोविन्द केसीको स्वास्थ्य खस्किँदै गएको छ । गत सोमबार भदौ २९ गतेदेखि जुम्ला सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका– ६ रानीचौरको बाबिरा मन्दिरको धर्मशालामा सत्याग्रहमा बसिरहेका उनको स्वास्थ्य बिग्रदै गएको छ ।
उनले शरीरमा स्लाइनसमेत लिन नमानेको चिकित्सकले बताएका हुन् । डा केसी सरकारसँग आधा दर्जन माग राख्दै १९ औं पटक आमरण अनसनमा बसेका हुन् ।
उनले आफ्नो शरीरको पर्वाह नगरी आमरण अनसनमा बसे पनि उनका लागि प्रार्थना गर्नेहरु दिन प्रतिदिन बढेका छन् ।
बिरामीका लागि ‘भगवान’ रहेका डा केसी सत्याग्रहमा बसे पनि बिरामी हेर्न भने छाडेका छैनन् । उनले दैनिक आउने बिरामीलाई समेत सेवा दिनुका साथै सरसल्लाहसमेत दिने गरेका छन् ।
वरिष्ठ हाडजोनी रोग विशेषज्ञ प्रा.डा. केसी शिक्षण अस्पताल महाराजगञ्जबाट सेवा निवृत्त भएका हुन् ।
उनी जुम्लाका विभिन्न स्थानमा आमरण अनसन बस्न खोजे पनि उनलाई प्रशासनले रोक लगाएपछि वाध्य भएर एउटा धर्मशालामा बसेर सत्याग्रह थालेका हुन् ।
उनी मन्दिरकै धर्मशालामा बस्न वाध्य भए । एक भगवानको अवतारका रुपमा स्वास्थ्यले थलिएको नेपालमा उनी सेवामा कार्यरत रहँदा उनको बस्ने स्थान नै मन्दिरको वरिपरि भएको भनी स्वास्थ्य सेवा नपाएर पीडित भएकाहरुले बताउन थालेका छन् ।