काठमाडौं । चालु आर्थिक वर्षको २ महिना (साउन–भदौ)मा पोहोरको तुलनामा राजश्व कम संकलन भएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/०७७को तुलनामा चालु आर्थिक वर्ष २०७७/०७८मा राजश्व संकलन करिब १ प्रतिशतले कम संकलन भएको हो ।
गत आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारले लक्ष्यको ११ दशमलव ६२ प्रतिशत राजश्व संकलन गरेको थियो ।
चालु आर्थिक वर्षमा लक्ष्यको १० दशमलव ८७ प्रतिशत राजश्व संकलन गरेको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।
गत आर्थिक वर्षमा सरकारले बजेट मार्फत राजश्व संकलनको लक्ष्य ११ खर्ब ७० अर्ब २ करोड ८७ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा पहिलो दुई महिनामा १ खर्ब ३५ अर्ब ९९ करोड ८९ लाख रुपैयाँ संकलन भएको थियो ।
संकलित उक्त राजश्व लक्ष्यको ११ दमलव ६२ प्रतिशत थियो ।
चालु आर्थिक वर्षको सोही अवधिमा सरकारले लक्ष्यको १० दशमलव ८७ प्रतिशत राजश्व संकलन गरेको छ ।
कुल १० खर्ब ७२ अर्ब २८ करोड ६१ लख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको सरकारले सुरुको २ महिनामा १ खर्ब १६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ संकलन गरेको छ ।
संकलित उक्त राजश्व लक्ष्यको १० दशमलव ८७ प्रतिशत हो ।
खर्चमा सुधार
चालु आर्थिक वर्षमा सरकारले बजेट खर्चमा तुलनात्मक रुपमा केही सुधार गरेको महालेखाको तथ्याङ्कबाट देखिएको छ ।
आर्थिक वर्षको पहिलो २ महिनामा लक्ष्यको ४ दशमलव ८१ प्रतिशत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार २ महिनामा ७० अर्ब ९७ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ ।
चालु आर्थिक वर्षमा राजश्व संकलन, वैदेशिक ऋण, वैदेशिक अनुदान लगायतबाट कुल १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ खर्च गर्ने सरकारी लक्ष्य रहेको छ ।
गत आर्थिक वर्षको पहिलो २ महिनामा लक्ष्यको ३ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको थियो ।
कुल १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको सरकारले सुरुको २ महिनामा ५९ अर्ब ४० करोड ७८ लाख रुपैयाँ खर्च गरेको थियो ।
उक्त खर्च लक्ष्यको ३ दशमलव ८८ प्रतिशत हो ।