संविधान दिवसः ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउन सरकार अगाडि बढ्दै रहेको छ – मुख्यमन्त्री राई
प्रकाशित २०७७ असोज ३ शनिबार
196
Shares
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यस संविधान दिवसले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा दिने र यसप्रति सबै नेपाली सङ्कल्पित हुने विश्वास व्यक्त गरेका छन् ।
‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न तथा सोही अभियानलाई सफल बनाउन ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउने प्रादेशिक मूल नाराका साथ प्रदेश सरकार अगाडि बढिरहेको जनाउँदै सोका लागि समाजका सबै वर्ग, समूह, पेशा र क्षेत्रको सहकार्यमा जोड दिएका छन् ।
कृषि, पर्यटन, उद्योग, पूर्वाधार विकास, सामाजिक तथा मानवीय विकास प्रदेश सरकारको प्राथमिकतामा परेको, समावेशी सहभागिता र न्यायपूर्ण समाज निर्माणलाई महत्व दिइएको तथा सबै समुदायका धर्म, संस्कृति, भाषा, लिपी कलाको संरक्षण गर्दै राष्ट्र निर्माणलाई मजबुत बनाउने अभिप्रायका साथ प्रदेश सरकार आफ्नो मध्यावधि कार्यावधिको समीक्षा गर्दै बाँकी समयमा गरिने कार्यको योजनासहित केही दिनमा प्रस्तुत हुने समेत जानकारी गराएका छन् ।
मुख्यमन्त्री राईले ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ केन्द्रित हुन प्रदेशका सबै राजनीतिक दल र प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीलाई आह्वान गर्दै यस अवसरमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन् सकोस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।