काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले जनताको संविधान जारी भएपछि सबैभन्दा महत्वपूर्ण पक्ष निर्वाचन भएको बताएका छन् ।
उनले पाँच वर्षअघि जारी भएको संविधानपछि त्यही अनुसार निर्वाचन भएको भन्दै अबका तथा प्रक्रियाका लागि छलफल गर्नुपर्ने बताए ।
नेता सिटौलाले संघीय लोकतान्त्रिक संविधान जारी भएपछि निर्वाचन भएको पनि तीन वर्ष पुगेकाले अब यसले नागरिकको रक्षा गर्यो कि गरेन, नागरिकको आवश्यकतालाई परिपूर्ति गर्यो कि गरेन भनी जनताका मौलिक अधिकार पूरा गर्यो कि गरेन भनी गम्भीर भएर लाग्नुपर्ने पनि बताएका छन् ।
उनले दलित, महिला, गरिब, ज्येष्ठ नागरिक लगायतको विशेष मौलिक अधिकारमा ख्याल गर्न सक्यो कि सकेन भनी गम्भीर भएर लाग्नुपर्ने पनि बताए ।
सरकारले त्यो ठाउँमा काम गर्न नसकेको स्पष्ट पार्दै उनले सरकार चुकेको समेत बताए । नेता सिटौलाले कोभिड–१९ पछिको अवस्था झन् नाजुक बनेको बताए ।
उनले सरकारले संविधानले दिएका अधिकार जनतालाई प्रत्याभूत गराउन कम्युनिष्ट सरकार असफल बनेको पनि आरोप लगाए ।
पूर्व महामन्त्री सिटौलाले समग्रमा मूल्यांकन गरेर अब गम्भीर छलफल गरौं भनेर धेरै भए पनि सरकारले यसलाई प्राथमिकतामा नराखेको आरोपसमेत लगाए ।
सरकार स्थिर भए पनि संविधान संशोधनका विषयमा कम्युनिष्ट सरकारले वास्ता नगरेको बताए ।
संवैधानिक आयोगले लामो समयसम्म पनि पूर्णता पाउन नसकेको भन्दै उनले झण्डै दुई तिहाई नजिकको सरकार भएर पनि कमजोरी प्रदर्शन गरेको बताए ।
प्रदेश नम्बर २ बाहेक चारैतिर स्पष्ट बहुमतको सरकार भएर पनि काम गर्न नसकेको कम्युनिष्ट पार्टीको चाला देखेर अचम्म लागेको उनले बताए । उनले कम्युनिष्टका नेताहरु सत्ता र शक्ति बाँडफाँडमै अल्झेको आरोपसमेत लगाए ।
संविधान दिवसको अवसरमा नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा कांग्रेस पूर्व महामन्त्रीले कर्मचारीदेखि प्रहरी तथा न्यायालयमा समेत कम्युनिष्ट सरकारको प्रभाव देखिन थालेको चर्चा चलेको भन्दै गम्भीर भएर यसलाई ध्यान दिनुपर्ने बताए ।
नेता सिटौलाले तीन वर्षसम्म पनि आयोगहरुले पूर्णता नपाउँदा यो सरकारले के गर्न खोजेको हो भनी प्रश्न उठ्न थालेको बताए ।
सार्वजनिक रुपबाट कम्युनिष्ट सरकार जवाफदेही हुन नसकेको आरोप लागिरहेका बेलामा केपी ओली नेतृत्वको सरकार पटक पटक चुकेको आरोप लगाए ।
उनले प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि संसददेखि सडकसम्म कतै पनि सरकारको विरोध नगरी काम गर्न दिएको भन्दै संविधानको मूल मर्म र भावना अनुसार कम्युनिष्ट सरकारले काम गर्न नसकेको उनले बताए ।
उनले संविधानले जुन बाटो देखाएको छ त्यो बाटोमा सरकार जानुपर्नेमा जोड दिएका छन् । गणतन्त्रले जनताको सर्वोच्चता स्थापित गरेको पनि नेता सिटौलाले बताए ।
निर्वाचनको व्यवस्थापन सही ढंगले गर्न नसकेका कारणले कांग्रेसले गएको निर्वाचनमा पराजय भोग्नु परेको पनि नेता सिटौलाले बताए ।