काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करण शनिबारदेखि सुरु हुँदैछ ।
कोरोना भाइरसको महामारीका कारण भारतको सट्टा युएईमा खेल हुँदैछ ।
शनिबार अबुधाबीमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र रनर अप चेन्नई सुपर किङ्सबीचको खेलसँगै आईपीएलको नयाँ सिजन सुरु हुनेछ । खेल नेपाली समयअनुसार बेलुकी ७ः४५ बजे सुरु हुनेछ ।
रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई सुखद सुरुवात गर्न चाहन्छ भने महेन्द्र सिंह धोनीको कप्तानीमा मैदानमा उत्रने चेन्नई बदला लिन चाहन्छ ।
दुई टिमबीचको पछिल्लो नजिता हेर्ने हो भने मुम्बई बलियो देखिएको छ । पछिल्लो पाँच खेलमा मुम्बई अपराजित रहेको छ । गत सिजनको फाइनलमा समेत मुम्बईले चेन्नईलाई हराएकाले शनिबार चेन्नईलाई बदला लिने राम्रो अवसर रहेको छ ।
दुवै टिम चौथो पटक ओपनिङ खेल खेल्दैछन् । अहिलेसम्म मुम्बईले ४ तथा चेन्नईले ३ पटक उपाधि जितेको छ ।
नेपाली स्पीन बलर सन्दीप लामिछाने सम्मिलित रहेको दिल्ली क्यापिटल्सले भने आइतबार आफ्नो खेल खेल्दैछ ।
यो खेलमा सन्दीप खेल्ने सम्भावना कम रहेको छ । उनी क्यारेबियन प्रिमियर लिग खेलेर युएई पुगेका हुन् ।
उनी क्वारेन्टिन बसेर कोरोनाको पीसीआर गर्दा केही समय लाग्नेछ ।
तेस्रो पटक आईपीएल खेल्दै गरेका सन्दीपले पहिलो पटकमा ३ र दोस्रो पटकमा ६ खेल खेलेका थिए । यसपटक धेरै खेल खेल्ने अपेक्षा गरिएको छ ।