काठमाडौं । नेपाली कांग्रेसले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रेस विज्ञप्ति जारी गर्दै संविधान दिवसको शुभकामना दिएका हुन् ।
उनले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको चर्चा गर्दै तत्कालीन सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको योगदानको सम्झना गरेका छन् ।
उनले संविधान जारी भएपछिका दिनहरूमा संविधानको सफलताका लागि बांकी कार्यभारहरु पूरा गर्ने भन्दा संविधानको भावना विपरीतका गतिविधि नेकपाको नेतृत्वमा रहेकोे सरकारबाट भइरहेको भन्दै यसलाई आफूले गम्भीरतापूर्वक लिएको बताएका छन् ।
यस्तो छ कांग्रेस सभापति देउवाको विज्ञप्ति–
असोज ३, २०७७
संविधान दिवसको हार्दिक शुभकामना
मुलुकमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहिदहरुको समर्पण र वलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उहाँहरुप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
नेपाली कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि हो । यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ । संविधान जारी भएको यो ऐतिहासिक दिनलाई हामी सबैले गौरव साथ स्मरण गर्दै हरेक वर्ष संविधान दिवसका रुपमा मनाउँदै आएका छौँ ।
विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ । यसबाट उत्पन्न परिस्थितिले आम नागरिकको जीवन अत्यन्त कष्टकर र दयनीय बन्दै गएको छ । उच्च सर्तकता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न संविधान दिवसको अवसरमा म सबैलाई आग्रह गर्दछु ।
संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै अबका दिनमा मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन यो संविधान दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु । संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावना अनुरुपको ब्यवहार जरुरी हुन्छ ।
नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्रीहरु क्रमशः गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको अनि तिन तहको निर्वाचन गराएर मेरो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको सर्वविदित नै छ ।
तर त्यसपछिका दिनहरूमा संविधानको सफलताका लागि बांकी कार्यभारहरु पूरा गर्ने भन्दा संविधानको भावना विपरीतका गतिविधि नेकपाको नेतृत्वमा रहेकोे सरकारबाट भइ रहेको छ । यसलाई मैले गम्भीरतापूर्वक लिएको छु ।
प्रधानमन्त्रीको कार्यालयमा शक्ति केन्द्रित गर्ने कार्य, संविधानको भावना विपरीतका विधेयकहरु, प्रेस स्वतन्त्रता कुन्ठित गर्ने नियत र ब्यवहार, प्रदेश र स्थानीय सरकारहरुलाई अधिकार, कर्मचारी र बजेट बिनियोजनमा गरिएका विभेदहरु, संवैधानिक अंगहरुको गरिमा अन्त्य गर्ने ढंगले गरिएका ब्यवहारहरु, फरक विचार राख्ने या विरोध गर्नेप्रति जाइलाग्न प्रस्तुत असहिष्णु अभिव्यक्ति, नेकपा नेतृत्वको शासनका यस्ता कार्यले संविधानको सफलता होइन नवीन जटिलता तर्फ मुलुकलाई लैजान सक्दछ । आजको दिन लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक ब्यवहारमा इमानदार बन्न म प्रधानमन्त्रीजी एवं उहाँको नेतृत्वमा रहेकोे सरकारलाई अपील गर्दछु ।
अन्त्यमा, अनेक चुनौतीका बावजुद यो संविधानको सफलता संग हामीले देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प आजको घडी जरुरी छ । यहि आग्रह साथ स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
शेरबहादुर देउवा
सभापति