काठमाडौं । डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा हारबाट यात्रा सुरु गरेको छ ।
युएईको अबुधाबीमा शनिबार राति भएको उद्घाटन खेलमा मुम्बई इन्डियन्स डिफेन्डिङ रनर अप चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको हो ।
शेख जायद स्टेडियममा मुम्बईले दिएको १६३ रनको विजयी लक्ष्य चेन्नईले १९.२ ओभरमा ५ विकेटको नोक्सानीमा पूरा गर्यो ।
अम्बाटी रायडुले ७१ रन तथा फाप डु प्लेसिसले नटआउट रहँदै ५५ रन बनाए । कप्तान महेन्द्र सिंह धोनीले रनको खाता नखोली नटआउट रहे ।
मुम्बईका ट्रेन्ड बोल्ट,जेम्स प्याटिनसन, जसप्रित बुमराह, हार्दिक पाण्डेय र राहुल चहरले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ९ विकेटको नोक्सानीमा १६२ रन बनाएको थियो ।
सौरभ तिवारीले ४२ रन बनाउदा क्विन्टन डी ककले ३३ रन बनाए । कप्तान रोहित शर्मा १२ रनमै आउट भए ।
चेन्नईका लुंगी एनगिडीले ३ विकेट लिए । रबिन्द्र जडेजा र दिपक चहरले २–२ विकेट लिए ।
गत वर्षको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो । यसअघिका रेकर्ड रोकेर चेन्नई हावी भएको हो ।
कोरोना भाइरसको महामारीका कारण भारतको सट्टा युएईमा खेल भइरहेको हो ।