काठमाडौं । कोरोना भाइरस महामारीले भारतलाई ग्रस्त पार्दै गएको छ । दैनिक ९० हजार भन्दा बढी संक्रमित थपिँदा यसले जनजीवनलाई निकै नै प्रभावित पारेको छ ।
यति हुँदा पनि भारतमा धेरैजसो सेवाहरु सुचारु हुँदै गएका छन् । शनिबारमात्रै पनि ९२ हजार ५७४ जना संक्रमित थपिएका छन् । अहिलेसम्म संक्रमित हुनेको संख्या ५३ लाख ९८ हजार २३० पुगेको छ । १० लाख १० हजार ९७५ जना सक्रिय संक्रमित रहेका छन् ।
शनिबार सबैभन्दा धेरै संक्रमणमुक्त भए । ९४ हजार ३८४ जना संक्रमणमुक्त भएका हुन् । यो दिन संक्रमित थपिने भन्दा निको हुने दुई हजारले बढी रहे ।
अहिलेसम्म भारतमा ४२ लाख ९९ हजार ७२४ जनालाई निको भइसकेको छ ।
शनिबार १ हजार १४९ जनाको ज्यान गएको छ । अहिलेसम्म ८६ हजार ७७४ जनाको ज्यान गइसकेको छ ।
विश्वभरमै भारत संक्रमणमा दोस्रो स्थानमा छ । यही गतिले संक्रमण बढ्दा यही महिनामै शीर्ष स्थानमा पुग्ने अनुमान भइरहेको छ ।