डोटी । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका नेपाल विद्यार्थी संघका अध्यक्षहरुले सीटीईभिटीले नयाँ खोलेको भर्ना विद्यार्थीको हित विपरित भएको भन्दै सच्चाउन माग गरेका छन् ।
नौ वटै जिल्लाका नेविसंघका अध्यक्षहरुले आइतबार धनगढीमा संयुक्त रुपमा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद सुदूरपश्चिम प्रदेश कार्यालयका निमित्त प्रमुख मार्फत सिटीईभिटी केन्द्रिय कार्यालयमा ज्ञापन पत्र बुझाएको नेविसंघ बैतडीका अध्यक्ष कपिल केसीले जानकारी दिए ।
सीटीईभिटी प्रदेश कार्यालयका निमित्त निर्देशक देवसिंह धामीलाई नेविसंघका नौ वटै जिल्ला अध्यक्षहरुले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा भनिएको छ –‘सीटीइभिटी परिक्षा नियन्त्रण कार्यालयले शैक्षिक डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाका लागि एसईईमा प्राप्त गरेको प्राप्ताङकलाई ६० र कक्षा ८ मा प्राप्त गरको प्राप्ताङलाई ४० प्रतिशत अंकभार प्रदान गरी छनौट गर्ने प्रकृया अपारदर्शी र अवैज्ञानिक छ भन्ने हाम्रो ठहर छ ।’
अगाडि भनिएको छ– महामारीको समयमा एसईईको नतिजा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा प्रकाशन गरिएकोले विद्यार्थीको बास्तविक क्षमताको मुल्यांकन हुन नसकेको र निजी विद्यालयको तुलनामा सरकारी विद्यालयका विद्यार्थीको प्राप्ताङक बिगतको तुलनामा अत्यन्त न्युन रहेको छ ।
त्यसैले प्रबेश परीक्षा गर्न नेविसंघको माग छ । ज्ञापन पत्रमा प्रवेश परीक्षा प्रणालीका माध्यमबाट बिद्यार्थीको छनौट गर्न वा सरकारी विद्यालयबाट उत्तीर्ण विद्यार्थीका लागि ८० प्रतिशत सिट सुनिश्चित गर्न माग गरिएको छ ।
सात दिन भित्र माग सुनुवाई नभए कडा आन्दोलन गर्ने नेविसंघ डोटीका अध्यक्ष गणेश खड्काले बताएका छन् ।