हुम्लामा पनि छिर्यो कोरोना भाइरस, २१ वर्षीया किशोरी संक्रमित
एयरलाइन्स खुलेपछि सँगसँगै छिर्यो हुम्लामा कोरोना, किशोरी पुग्दा गाउँलेले नै गरेका थिए बाजागाजासहित स्वागत
जनकबहादुर शाही,
प्रकाशित २०७७ असोज ५ सोमबार
146
Shares
हुम्ला । अहिलेसम्म ग्रिनजोनमा रहेको हुम्ला शनिबार सर्केघाड गाउँपालिका वडा नं. ५ गोठी गाउँकी २१ वर्षीया किशोरीमा कोरोना पोजेटिभ भएपछि संक्रमित जिल्लामा गनिएको छ ।
पिसीआरको रिपोर्ट नआउँदै शनिबार बाँकेको नेपालगञ्जबाट समिट एयरमा हुम्ला आएकी सर्केघाड गाउँपालिका वडा नम्बर ५ गोठीकी २१ वर्षिया किशोरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुुक्रबार कोहलपुर ल्यावमा संकलन गरिएको स्वावको नतिजा पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका जनस्वस्थ्य अधिकृत प्रेमबहादुर सिंहले बताए ।
शनिबार सिमकोट पुगेर ती किशोरी आइतबार माउन्टेन्ट हेलिकोप्टरबाट सर्केघाड हुँदै आफ्नो गाउँ गोठी पुगेकी छिन् । ती किशोरी गाउँ पुग्दा गाउँमा पहिलो पटक आएकाले बाजागाजासहित स्वागत गरियो । तर उनैलाई कोरोना संक्रमण भएको पछि थाहा भएको सर्केगाड ५ का वडा अध्यक्ष कर्नजंग शाहीले बताए ।
५ नं. वडामा संक्रमितको आगमन भएसंगै आइतबारदेखि नै सर्केगाड ५ को गोठी गाउँलाई सिल गरिएको सर्केघाड गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर रोकायाले बताए ।
नेपालगञ्जदेखि सिमकोट हुँदै सर्केघाड कोरोना संक्रमण पुष्टी भएकी किशोरी पुगेको खबर पाउने बित्तिकै सर्केघार्ड गाउँ कार्यपालिकाको बैठक बसी तत्काल गोठी गाउँलाई सिल गर्ने निर्णय गरेको उनले बताए ।
अध्यक्ष रोकायाले भने, ‘हामीले गोठी गाउँलाई सिल गरेर आवश्यक स्वास्थ्य सावधानी अपनाउने विषयमा सबै तयारी पूरा गरेका छौं ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह कोरोना शून्य हुने जिल्लामा हुम्लालाई पनि राखेको छ ।
अहिलेसम्म रसुवा, मुस्तांग, म्याग्दी, डोल्पा र मुगु गरी पाँच जिल्लामात्र कोरोनामुक्त जिल्ला रहेका छन् ।