arrow

एकदिन बैठक बसेर चोखियो पेरिसडाँडा, अब बालुवाटारमै बस्ने, सोमबारको बैठक स्थगित

मन्त्रीमा वामदेव र नारायणकाजी, कार्यदलका सदस्यहरु छायाँमा पर्दै

logo
प्रकाशित २०७७ असोज ५ सोमबार
ncp-sachibalaya4.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको छ । 

सोमबार दिउँसो १ बजे पेरिसडाँडामा बस्ने भनिएको बैठक मंगलबार सम्मका लागि स्थगित भएको हो । 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित भएको जानकारी दिँदै मंगलबार दिउँसो १२ः३० बजे बालुवाटारमै हुने जानकारी दिएका हुन् । 

आइतबारको सचिवालय बैठकमा सरकार हेरफेरमा सहमति भएको थियो । सोमबारको सचिवालय बैठकमा सरकारमा को को मन्त्री भन्ने विषयमा छलफल हुने तय भएको थियो ।

सचिवालयका सदस्यहरुले राम्रा काम गर्नेहरुलाई निरन्तरता दिँदै विवादित मन्त्रीहरुलाई बिदाइ गर्न सुझाएका थिए ।

पेरिसडाँडा भने अर्घेलो कार्यालय भएको छ । बैठक पेरिसडाँडामै बस्ने तय भए पनि बालुवाटार किन सारियो भनी तत्कालीन माओवादीभित्र आरोप चलेको छ । 

तत्कालीन एमालेका नेताहरु भने धुम्बाराहीमा नियमित रुपले बस्नुपर्नेमा जोड दिँदै आएका छन् । 

स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमै बैठक डाक्दै आएका छन् । 

तर उनी तन्दुरुष्ट भइसके भने कोरोना भाइरसको डर सरकारलाई छँदै छैन । दैनिक कम्तीमा १५ सयको हाराहारीमा कोरोनाका संक्रमित थपिँदा र त्यसमा पनि आधा भन्दा बढी काठमाडौं उपत्यकामै देखिँदासमेत सरकार मौन छ । 

प्रवक्ता श्रेष्ठलाई मन्त्री बन्न हतार भएकाले पनि कुनै प्रतिक्रिया नदिई बालुवाटारमै बैठक बस्न राजी हुँदै आउने आरोप माओवादीभित्रै लाग्ने गरेको छ । 

वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउने चर्चा छ । 

त्यस्तै ओलीको कुर्सी जोगाउने गरी गठित कार्यदलका छ जनाकै भाग्य चम्किने बताइए पनि अहिले आएर उनीहरुको नाम सेलाउँदै गएको छ । 



लोकप्रिय समाचार
नयाँ