तनहुँ । तोकिएको कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका भानु नगरपालिका–१३ सम्जुरका ३० वर्षीय सुरेन्द्रकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
तनहुँ जिल्ला अदालतले विसं ०७३ चैत १७ गते बहुविवाह सम्बन्धि मुद्दामा उनलाई एक वर्ष कैद र रु दश हजार जरिवाना हुने गरी फैसला सुनाएको थियो ।
तीमध्ये ११ महिना १९ दिन कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही विगत चार वर्षदेखि फरार रहेका श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालत समक्ष पेश गरिएको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताए ।
त्यसैगरी लागुऔषध मुद्दाका फरार अभियुक्त बन्दिपुर–१ नहालाका किना परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँले विसं ०७७ वैशाख २ गते लागुऔषध सम्बन्धि मुद्दामा उनलाई ६ महिना कैद तथा रु तीन हजार जरिवाना हुने फैसला गरेको थियो ।
तीमध्ये चार महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेकी उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विभिन्न मुद्दाका फरार अभियुक्तमध्ये २५ जना आइतबार पक्राउ परेका छन् । उनीहरुलाई तोकिएको जरिवाना र कैद भुक्तानका लागि जिल्ला अदालत समक्ष उपस्थित गराइएको छ ।