काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ ।
दुबईमा सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले विजयी सुरुवात गरेको हो ।
बैंगलोरले दिएको १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.४ ओभरमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो ।
हैदराबादका लागि जोनी बेयरस्टोले ६१, मनिस पाण्डेले ३४ तथा प्रियाम गार्गले १२ रन बनाए । हैदराबादका युजभेन्द्र चाहलले ३ विकेट लिए । शिवम डुबे र नाभदिप सैनीले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ५ विकेटको नोक्सानीमा १ सय ६३ रन बनाएको थियो । डेभदत्त पडिक्कलले ५६ तथा एबी डी भिलियर्सले ५१ रन बनाए । कोहलीले १४ रन बनाए ।
हैदराबादका विजय शंकर, थानगारासु नटराजन र अविशेक शर्माले १–१ विकेट लिए ।
अहिलेसम्म ३ खेल भएका छन् । जसमा चेन्नई सुपर किंगस, दिल्ली क्यापिटल्स र बैंगलोर विजयी भएका छन् । यसअघि मुम्बई इन्डियन्स र किंगस इलाभेन पञ्जाब पराजित भएका छन् ।