कोरोनाभाइरसको कोभ्याक्स अभियानमा कति देश छन् सहभागी ?
प्रकाशित २०७७ असोज ६ मंगलबार
104
Shares
काठमाडौं । विश्वभरिका दुई तिहाइ जनसङ्ख्या प्रतिनिधित्व गर्ने १५६ देशले कोरोनाभाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान कोभ्याक्समा सहभागिता जनाएको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ।
तर उक्त अभियानमा अमेरिका र चीन सामेल छैनन्। सो अभियानका लागि पर्याप्त स्रोत जुटि नसकेको पनि बताइएको छ।
कोभ्याक्स नामक उक्त सुविधाले भावी खोप वितरणमा गरिब मुलुकहरूलाई सहजीकरण गरिदिनेछ।
कोभ्याक्स अन्तर्गत अर्को वर्षको अन्त्यसम्म दुई अर्ब मात्राको खोप उपलब्ध गराइने आशा गरिएको छ तर अझैपनि उसले पर्याप्त स्रोत जुटाइसकेको छैन।
डब्लूएचओका महानिर्देशक टेड्रस एडह्यानम गेहब्रेयससले सबै देशका केहीलाई खोप लगाउनु उत्तम रणनीति हुने बताए।
महामारीबाट सबभन्दा छिटो पार पाउने हो भने कुनै देशका सबैलाई खोप लगाउने तरिका सही नहुने उनले बताए।
‘यो सबै देशको उत्तम स्वार्थसँग मिल्छ। या त हामी सबै सँगै डुब्छौँ या सबै सँगै पौडेर पार पाउँछौँ। यो महामारीबाट उम्कने र तीव्र आर्थिक सुधारमा लाग्ने छोटो बाटो भनेको कुनै देशका सबैलाई खोप लगाएर होइन कि सबै देशका केहीलाई खोप लगाएर हो’, उनले भने।
कोभ्याक्स अन्तर्गत स्वास्थ्यकर्मी, वृद्धवृद्धा तथा पुरानो रोग रहेका र जोखिममा रहेकाहरूलाई खोपमा प्राथमिकता दिइने बताइएको छ।
अधिकांश धनी देश सामेल भएपनि अमेरिका र चीनले भने कोभ्याक्समा सहभागिता जनाएका छैनन् । अमेरिकाले द्वीपक्षीय लेनदेनमा रुचि देखाउँदै आफ्नै जनतालाई आपूर्ति गर्नमा ध्यान केन्द्रित गर्ने भनेको छ।
चीनले चाहिँ डब्लूएचओसँग कुराकानी भइरहेको बताएको छ। (बीबीसीबाट)