काठमाडौं । नेपाल र भारतबीचको व्यापार र वाणिज्य सम्बन्ध सुदृढ पार्न लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रले निर्णायक भूमिका खेल्दै आएको छ ।
कोभिड-१९ महामारीका समयमा नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल एसबीआई बैंक लिमिटेड (एनएसबीएल) र पीएचडी चेंबर अफ कमर्स एन्ड इन्डस्ट्रीले आयोजना गरेको एक अन्तर्क्रियामा विज्ञ र नीति निर्माताहरूले भारत नेपालमा एमएसएमईले ठूलो भूमिका खेल्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एमएसएमई क्षेत्रलाई नेपालको अर्थतन्त्रको ग्रोथ इन्जिन भएको बताए । पछिल्ला नीतिगत उपायहरुमा प्रकाश पार्दै उनले नेपालका एमएसएमईहरू अझ बलियो हुँदै जाने र सकारात्मक नतिजा प्राप्त हुने बताएका हुन् ।
लगानी बोर्डका नवनियुक्त सीईओ सुशील भट्टले वर्तमान महामारीको कारणले एमएसएमईले माग र आपूर्तिको क्षेत्रमा सामना गरिरहेका चुनौतीहरूको पहिचान गर्नुपर्ने बताए । उनले नेपालको अर्थव्यवस्था र रोजगारी सिर्जनाका लागि एमएसएमईको महत्त्वबारे उल्लेख गरे । क्षेत्रीय र विश्वव्यापी प्लेटफर्ममा प्रतिस्पर्धात्मक धार प्रदान गर्न सीएसएमईईमा दक्षता विकास, उद्यमशीलता अभिवृद्धि, नवीन अभ्यास र नयाँ प्रविधिको लागि जागरूकता सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।
"पछिल्लो समय नेपाल र भारतबीचको व्यापार आयात र निर्यात दुवैको हिसाबले ८५ प्रतिशतभन्दा माथि पुगेको छ," नेपालका भारतीय दूतावासका वाणिज्य प्रतिनिधि कपिध्वजा प्रताप सिंहले भने ।
उनले भारतका धेरै आयातकर्ता नेपालको निर्यातमा निर्भर भएको र स्थानीयकृत व्यापार तीव्र गतिमा भइरहेको बताए । यसले भारत र नेपाल बीचको व्यापारमार्फत अपार नेटवर्किंग र सप्लाई चेन मैनेजमेन्ट विकास भएको देखाएको उनले बताए ।