arrow

नेकपामा गौतमको रोदन, वादलको दौडधुप

गौतमलाई राष्ट्रिय सभामा लगिएकोमा सर्वोच्चमा पुग्यो मुद्धा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ६ मंगलबार
badal-bamdev.jpg

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले आफूलाई बद्नाम गरिएको गुनासो गरेका छन् भने गृहमन्त्री समेत रहेका रामबहादुर थापा वादल भने दुई अध्यक्षसँगको भेटघाटलाई तिब्रता दिएका छन् । 

नेकपाले मन्त्रिमण्डल पूर्नगठनको सैद्धान्तिक छलफल शुरु गरेपछि पार्टीभित्र यी दुई नेताले अनौठो तरिका अपनाएका छन् । गौतमले म विरुद्ध षडयन्त्र भयो भन्दै बैठकमा मात्र कुरा राखेनन ओली र दाहाललाई फोन गरेर समेत भन्न भ्याए भने अर्का सदस्य वादलले अध्यक्ष ओली र दाहाललाई भेटेर आफ्ना कुरा राखेका छन् । 

यस अगाडी सरकारमा जाने मन्त्रीहरु फेर्ने विषयमा कुनै संस्थागत छलफल नगराएपनि पहिलो पटक पार्टी बैठकमा यस विषयमा औपचारिक छलफल शुरु भएपछि गौतमको मन्त्री बन्ने चाहना र वादलको मन्त्री पद जोगाउने कसरत शुरु भएको हो ।

सचिवालय बैठकमा सबै मन्त्री झिकेर नयाँ सेट नै लैजाने, दुई वर्ष पूरा भएका सबैलाई झिकेर नयाँ लैजाने या रिक्त रहेका मन्त्रालयमा थप नयाँ मन्त्री नियुक्त गर्ने र काम देखाउन नसकेकालाई कार्यक्षमताका आधारमा हेरेर मात्र बदल्ने भन्ने विकल्पमा छलफल शुरु भएको छ ।

उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सरकारमा जाने रहर देखाएका छन् । उनीहरु जान पाउने नपाउने, संविधानको ब्याख्या के हुन्छ भन्ने बहस पनि नेकपामा छ ।

नेताहरु बढी भन्दा बढी मन्त्रीहरु फेर्ने कोसिसमा भएपछि थापाले आफू पनि असुरक्षित महशुस गरेका छन् । वादललाई हटाउने या राख्नेमा के गर्लान् ओली र प्रचण्डले भन्ने ढंगले छलफल चलेको बेला सोमबार विहान वादल खुमलटार पुगेका थिए । त्यहाँ दाहाल–वादल गोप्य भेटघाट भएको थियो ।

त्यस्तै सोमबारे वादलले ओलीलाई पनि भेटेका थिए । दुवै नेताले आफनो शक्ति सन्तुलन कायम राख्न पनि उनलाई मन्त्रीमा राखेरै जाने निर्णयमा ओली र प्रचण्ड दुवै पुग्न सक्ने अड्कलबाजी भईरहदा गृहमन्त्री थापा भने अध्यक्ष प्रचण्ड र ओली भेटन खुमलटार र वालुवाटार पुगेका हुन् । 

दुई नेताबीचको छलफलका विषयमा केही कुरा सार्वजनिक हुन नसकेपनि स्रोतका अनुसार, मन्त्रीमण्डल हेरफेरकै विषयमा केन्द्रीत रहेर प्रचण्ड र वादलका बीचमा छलफल भएको थियो । वादललाई अहिले ओली आफैले पनि पार्टीभित्रको सचिवालयमा आफ्नो समिकरण बलियो बनाई राख्नका लागि पनि जोगाएर जाने नीति लिएको देखिएको छ ।

सरकारमा रहदा वादलले प्रधानमन्त्रीको आलोचनामा आफुलाई नउभ्याई सहयोगीकै भूमिका यस अगाडी देखाएका थिए । वादललाई हटाउने प्रस्ताव लाँदा आफुबाट उनी सधै टाढिन सक्ने ठानी प्रचण्ड पनि उनको सवालमा कुनै बोल्ड डिसिजनमा जान सक्ने अवस्थामा छैनन् ।

गौतमले भने पार्टीको सचिवालय बैठकमा आफ्नो गुनासो राखेका थिए । तर त्यतिले नपुगेर उनले दुई अध्यक्षलाई फोनबाटै आफू विरुद्ध षडयन्त्र हुन थालेको गुनासो पनि गरेका हुन । ‘राष्ट्रिय सभामा म पुगेलगत्तै अदालतमा रिट पुग्छ । आफु विरुद्द केही पार्टीकै त केही वाहिरियाहरुले मुद्दा बोकेर अदालत पुग्छन् यो भनेको मेरो बद्नाम हो यसमा पार्टीले डिफेन्स गर्ने कि नगर्ने भन्दै गौतमले पार्टीको सचिवालय बैठकमा कुरा राखेका थिए’, स्रोतले भन्यो ।

आइतबार अदालत खुल्ने वित्तिकै उनलाई राष्ट्रिय सभा लैजाने निर्णय विरुद्द तीन वटा रिट निवेदन सर्वाेच्च अदालतमा पुगेको छ । ती रिटमा आदलतले बुधबारलाई पेशी तोकेको छ । प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दाबी गरी छुट्टाछुट्टै तीनवटा रिट निवेदन सर्वाेच्चमा दर्ताका लागि पुगेका भएपनि अधिवक्ता दिनेश त्रिपाठीले हालेको रिटलाई बुधबारका लागि पेशी तोकेको हो । रिटमा प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्तिलाई संघीय संसद्को सोही कार्यकालभित्र राष्ट्रिय सभामा मनोनित गरिनु जनताको अभिमतको गम्भीर अपमान हो भनिएको छ ।

गत भदौ २९ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपतिले गौतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनित गरेकी थिइन्। उनले सोही दिन सपथ पनि लिईसकेका छन् । अदालतमा रिट निवेदन पुग्दै गर्दा उता कोटेश्वरस्थित पार्टी जनवर्गीय संगठनको कार्यालयमा बसेको सचिवालय वैठकमा भने गौतमले पार्टीले आफनो डिफेन्स गर्नुपर्ने बताएका थिए । ‘मलाई चुनाव हराउने काम पार्टीभित्रकै नेताहरुका कारण भएको हो । त्यसपछि पनि प्रतिनिधीसभा जान, राष्ट्रिय सभा जान मलाई पार्टी नेताहरुले नै सुझाव दिएका हुन् । त्यही अनुसार जान खोज्दा विषय उचाल्ने र अन्तिममा मेरो बदनामी गराउने काममा पनि पार्टी नेतानै लागेको अनूभूति मलाई भईरहेको छ । म काम गर्न खोज्ने मान्छे हुँ, उपाध्यक्ष गौतमले पार्टी वैठकमा भनेका थिए।

गौतमलाई सासद बनाइएपनि सरकारमा लान नमिल्ने भन्दै प्रधानमन्त्रीले सो आसयको अभिब्यक्ति दिएकोमा पनि गौतमको पार्टी वैठकमा आक्रोश थियो । उनले भने, पार्टीले गत फागुनमा निर्णय गर्छ, कार्यान्वयन हुन ६ महिना लाग्छ । फेरि पार्टीले निर्णय लिन्छ, क्याविनेटले निर्णय लिन आनाकानी हुन्छ , क्याविनेटले निर्णय गर्छ, राष्ट्रपतिकहाँ पत्र पठाउन उही शैलीमा आलटाल गरिन्छ, यो नियत हो की के हो ? म विरुद्द किन यसरी खेलिदैछ भन्दै गौतमको आक्रोस थियो । उनले आफूविरुद्ध पार्टीकै नेताहरु लागिरहेकाले त्यसको छानवीनको समेत माग गरेका थिए ।



लोकप्रिय समाचार
नयाँ