काठमाडौं । नक्कली बिल बनाएर राजश्व चुहावट गर्ने व्यवसायी विरुद्ध राजश्व अनुसन्धान विभागले पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले नक्कली तथा झुट्टा बिल प्रयोगरी राजश्व चुहावट गर्ने सन्तोषी निर्माण सेवा प्राली, स्काई लाइन ट्रेडर्स एण्ड सप्लायर्स, यति इन्टरनेशनल र रिवाज इन्टरनेशनल प्रालीका सञ्चालक विरुद्ध ११ करोड ३१ लाख रुपैयाँ विगो दावी गर्दै मुद्दा दायर गरेको हो ।
विभागले सन्तोषी निर्माण सेवा प्रालीका सञ्चालक केशवराज कंडेल लगायत ३ जनाबाट ६ करोड २२ लाख ७४ हजार २ सय २८ रुपैयाँ विगो असुल गरी जरिवाना र कैदसहीतको माग गरेको छ ।
त्यस्तै स्काई लाइन ट्रेडर्स सप्लायर्सका प्रोप्राइटर विरेन्द्र चौधरी, यति इन्टरनेशनलकी प्रोप्राइटर उषकुमारी चौधरी र रिवाज इन्टरनेशनल प्रालीका सञ्चालक हर्ष चौधरीबाट ५ करोड ८ लाख ९४ हजार २ सय १६ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदवी गर्दै मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।
उनीहरु विरुद्ध राजश्व चुहावट –अनुसन्धा तथा नियन्त्रण) ऐन २०५२ अनुसार मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।
सन्तोषी निर्माण सेवा प्रालीका सञ्चालक कंडेलले वस्तु तथा सेवा खरिद नै नगरी झुट्ठा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक खरिद गरेर मूल्य अभिवृद्धि कर र आयकर छलेको देखिएको विभागले जानकारी दिएको छ ।
त्यस्तै स्काई लाइन ट्रेडर्स एण्ड सप्लायर्स, यति इन्टरनेशनल र रिवाज इन्टरनेशनल प्रालीले पनि वस्तु तथा सेवा खरिद नै नगरी झुट्ठा तथा नक्कली विजक जारी गरी मूल्य अभिवृद्धि कर आयकर समेतको राजश्व छली गरेको पाइएको विभागको दावी छ ।
नक्कली विल विजक जारी गरी राजश्व छली राजश्व चुहावट ऐन २०५२को दफा ३ अनुसार गर्न नपाइने भएकाले ती व्यवसायी विरुद्ध सोही ऐन अनुसार मुद्दा दयर गरिएको विभागले जानकारी दिएको छ ।