काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३५६ जनामा कोभिड–१९ (कोरोना भाइरस) का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ११ हजार १५४ जनाको पिसीआर परीक्षण भएकामा एक हजार ३५६ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै हालसम्म देशभर कोरोना संक्रमितको कूल सङ्ख्या ६६ हजार ६३२ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४७ जना कोरोनाका संक्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौँमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना रहेका छन् । प्रवक्ता डा गौतमका अनुसार मंगलबार देशभर सक्रिय संक्रमितको सङ्ख्या १८ हजार १४२ रहेको छ । संस्थागत आइसोलेशनमा नौ हजार १९३ र होम आइसोलेशनमा आठ हजार ९४९ जना रहेका छन् ।
कोरोना संक्रमणबाट २४ घन्टामा थप २ को मृत्यु भएको छ । थप दुई जनाको मृत्यु भएसँगै मृतकको कूल सङख्या ४२९ पुगेको छ । मृत्यु हुनेमा १ जना महिला र १ जना पुरुष रहेका छन् । मृतक काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेपलाञ्चोकका ५० वर्षीया महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भएर ८२३ जना घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या ४८ हजार ६१ जना रहेको छ । नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ७२ प्रतिशत छ । देशभरका क्वारेन्टिनमा मंगलबार सात हजार १७१ छन् । त्यस्तै आइसियुमा उपचाररत २२३ जना र भेन्टिलेटरमा ३७ जना उपचाररत छन् ।
पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर र नवलपरासी रहेका छन् । संक्रमित शून्य भएका जिल्लामा म्याग्दी, सोलुखुम्बु, ताप्लेजुङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेको मन्त्रालयले जनाएको छ ।