स्थानीयको बिरोधपछि ०६९ सालमा गएको चिनियाँ टोलीले नेकपा सरकार बनेसँगै बनायो थप १० घर
नेपाली भूमीमा भवन बनाएको ठाउँमा पुगेका हुम्लाको सिडिओको टोलीलाई हप्काएर पठायो चिनियाँ सेनाले
जनकबहादुर शाही,
प्रकाशित २०७७ असोज ६ मंगलबार
101
Shares
हुम्ला। नेपाल र चीनको सिमाना लिमिको लाप्चा बगरमा रहेको ११ नं. सीमा स्तम्भ हराएको ५ बर्ष भयो । यसको खोजी न चीनले गर्यो न त नेपालले नै । तर स्तम्भा हराएको केहि बर्षमै नेपाली भूमिमा चिनियाँहरुले भवन खडा गरे । यता बर्षेनी ११ नं. स्तम्भ खोजीको कुरा मात्र हुन्छ यसको कार्यान्वयन भने हुँदैन । अब यो हराइएको स्तम्भ कसले र कहिले खोज्ने ?
यहि स्तम्भ हराएको मौका छापी लिमिको लाप्चामा नेपाली भुमी अतिक्रमण गरी चिनियाँ पक्षले भवन निर्माणको गरेको लिमिका स्थानियबासिको दाबी छ। स्थानियहरुलाई यो पनि आशंका छ की चिनियाँ सुरक्षा अधिकारीहरुले पहिला सीमा स्तम्भ गायब गराए त्यसपछि सिलसिलेवार ढंगले नेपाली भूमी अतिक्रमण गरि भवन बनाएर आफ्नो भएको दावी गरे। स्थानियहरुले यो जानकारी जिल्ला प्रशासनलाई गराएपछि एक टोली सो स्थानमा स्थलगत अध्ययन गरेर फर्केको छ ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको नेपाली टोली सीमाबाट बिना निष्कर्ष खाली हात फर्किएको छ। चिनियाँ पक्षले लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको र भवन निर्माण गरेको भुमी चिनियाँ भएको दाबी गरेको छ ।
अनुगमन र बार्ताका लागि गएका टोलीलाई चिनियाँ पक्षले आफ्नै भूमि भएको दाबी गरेको छ । भवन निर्माण भएको स्थानमा पुगेको नेपाली टोलीलाई हाम्रो भुमीमा बार्ता गर्न मिल्दैन बार्ता गर्ने भए सिमानामा जाउँ भनेर हपारेको स्थलगत अध्ययनका लागि गएको टोलीसंग लाप्चा पुगेका नाम्खा गाउँपालिका अध्यक्ष बिष्णुबहादुर लामाले बताए ।
चीनले मिचेको ठाउँबाट दायाँ एक घण्टाको दुरीमा रहेको १२ नम्बर स्तम्भ हेर्ने हो भन भवन निर्माण गरेको भुमी हाम्रै हो । तर चिनियाँ पक्षले भवन बनेको स्थलदेखि नेपाल तर्फको एक किलोमिटर भुभाग हाम्रो हो भनेर कब्जा गरेको लामाले बताए ।
१२ नम्बरको पिल्लर हेर्ने हो भने चिनिया पक्षल निर्माण गरेका भवन नेपाली भुमीतिर पर्छन । तर ११ नम्बरको स्तम्भ रहस्यमय ढंगले हराएको छ । चिनियाँले सो ठाउँमा बनाएको भवनले पनि ११ नम्बरको स्तम्भ किन हराएको थियो भनेर चिनियाँ पक्षलाई आशंका गर्ने प्रशस्त ठाउँ दिएको लामा सहितका स्थानियले बताए । लामाले दावी गर्दै भने, 'त्यो हाम्रै जमिन चीनले लिएको हो ।'
सोही क्षेत्रमा २०६६ सालमा लिमी–लाप्चा सडक निर्माण गर्दा नेपाली भूभाग भनेर आफू सो स्थानमा पाल हालेर बसेको स्मरण गर्दै अध्यक्ष लामाले भने, 'अब राज्यले स्तम्भ खोज्ने काम गर्नुपर्छ ।'
प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीसहितको टोली अनुगमनका लागि गएको ठाउँमा हामीले पहिला खर्क सार्ने गरेपनि अहिले त चिनियाँ सेनाले छिर्न पनि नदिने गरेको नाम्खा ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ्गले गुनासो गरे । 'अब ११ नम्बरको स्तम्भको नेपाल सरकारले खोजी गर्नुपर्छ।' तामाङ्गले बताए ।
नाम्खा गाउँपालिका–६ लिमिको लालुङ्जोङमा रहेको स्थानमा चीनले आ.ब ०६९/७० मा एक तले ३ कोठे भवन बनाएको थियो । पछि नेपाली पक्षले नेपाली भुमीमा भवन बनाएकोमा बिरोध गरे पछि त्यो भवन छोडेर गएको चिनियाँ पक्षले अहिलेसम्म प्रयोग नगरेको नाम्खा ६ लिमिका वडा अध्यक्ष पाल्जोर तामाङ्गले बताए।
तर नेकपा नेतृत्वको सरकार बनेदेखि भने चिनियाँहरुले सोहि स्थानमा थप १० भवन बनाएको स्थानियले बताए। भवन बनाएको ठाउँमा कम्पाउण्ड समेत घेरिएको छ । सरकारले पनि सर्वत्र दवाव उत्पन्न भएपछि भवन निर्माण भएको स्थानमा आफ्ना प्रतिनिधीहरु पठाएको छ । त्यो पनि सीमा विवादको छलफलका लागि नभइ अध्ययनका लागि मात्र ।
अनुगमन गर्न लाप्चा पुगेको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीसहितको टोलीलाई चिनियाँ पक्षले नक्सा देखाएर भवन बनाएको स्थान चीनकै भएको दाबी गरेपनि उक्त भुमी नेपालकै भएको टोलीले बताएको छ ।
प्रजिअसहितको टोलीमा लाप्चा पुगेर सिमकोट फर्केका नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले हराएको भनिएको ११ नम्बर स्तम्भ नभेट्दासम्म चीनको दावी स्वीकार गर्न नसकिने बताए । उनले भने, ' स्तम्भ भेटिएमा कसैले ढाँट्न नमिल्ने भएको कारण पहिले दुबै देश मिलेर हराएको स्तम्भ खोज्नुपर्छ ।
लिमिका स्थानीयहरुले चिनियाँले भवन बनाएको क्षेत्र नेपालकै भएको दावी गरिरहँदा चीनले शक्तिको दम्भमा नेपाली जमिनमा अतिक्रमण गरेको बताएका छन् ।