काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी छवीको वर्को उनकै नेतृत्वको सरकारका एक मन्त्रीले च्यातिदिएका छन् ।
सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको हालै जारी गरेको नयाँ राजनीतिक नक्सा र त्यसको क्षेत्रफल उल्लेख गरिएका विद्यालय तहका पाठ्यसामग्री बिक्री/वितरणमा प्रधानमन्त्री ओलीले रोक लगाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएसँगै प्रधानमन्त्रीको राष्ट्रवादी वर्को च्यातिएको हो।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री ओलीले किताबको वितरण रोक्न निर्देशन दिएसँगै आफूहरूले त्यस्ता पाठ्यसामग्री रोकिसकेको जानकारी दिएर प्रधानमन्त्रीको राष्ट्रवादी चरित्रसमेत उदांगो पारिदिएका हुन्। मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शिक्षामन्त्री पोखरेलले किताव वितरण रोकेको जानकारी दिएका थिए।
'किताब वितरणलाई प्रधानमन्त्रीले रोक्नुस् भन्नुभयो। हामीले रोकिसकेका छौं। परराष्ट्र, भूमिसुधार र शिक्षामन्त्रीसहितको वैठक गरेर प्रधानमन्त्रीलाई रिपोर्ट गर्छौं,' मन्त्री पोखरेलले भने।
भारतले अतिक्रमण गरेका नेपाली भूभाग समेटेर सरकारले जेठ ७ गते नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो। नयाँ नक्साअनुसार संविधानमा संशोधन समेत भइसकेको छ।
नयाँ नक्साअनुसार पाठ्यक्रम विकास केन्द्रले थप भएको क्षेत्रफलसमेतका तथ्यांक र अन्तर्राष्ट्रिय सीमा विवादको निरुपणबारे पनि उल्लेख गरेको छ। प्रधानमन्त्री केपी शर्माले दिएको पछिल्लो निर्देशनले आम नेपाली भने अचम्ममा परेका छन सँगसँगै रुष्ट समेत बनेका छन्।