काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको चौथो खेलमा चेन्नई सुपर किंगस पराजित भएको छ ।
उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई हराएको महेन्द्र सिंह धोनी कप्तानीको चेन्नई स्टेभन स्मिथको कप्तानीको राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको हो ।
राजस्थानले पहिले ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा २१६ रन बनायो । सन्जु साम्सनले ३२ बलमा ७४ तथा स्मिथले ४७ बलमा ६९ रन बनाए । दोस्रो विकेटका लागि दुवैले १२१ रनको साझेदारी भएको थियो ।
साम कुरानले ३ विकेट लिए ।
जवाफमा चेन्नईले ६ विकेटको नोक्सानीमा २०० रन मात्रै बनायो । फाब दु प्लेसिसले ३७ बलमा ७२ रन बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन् ।
त्यस्तै कप्तान धोनीले १७ बलमा नटआउट २९ रन बनाए पनि टिमको हार टार्न सकेनन् । राहुल तेवातियाले ३ विकेट लिए ।
८ टिम सहभागी प्रतियोगितामा राजस्थान, रोयल च्यालेन्जर्स बैंगलोर, दिल्ली क्यापिटल्स पहिलो खेलमै जित हासिल गर्दै क्रमशः पहिलोदेखि तेस्रो स्थानमा छन् ।
२ खेलबाट १ खेल जितेको चेन्नई चौथो स्थानमा छ । किंगस इलाभेन पञ्जाब, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद पराजित भएका छन् ।
कोलकाता नाइट राइडर्सले भने अझै खेलेको छैन । पहिलो खेलमा कोलकाताले बुधबार बेलुकी ७ः४५ बजे मुम्बई इन्डियन्ससँग खेल्दैछ ।
खेल अबुधाबीको शेख जायेद स्टेडियममा हुनेछ ।