arrow

सम्धीलाई सहयोग गर्ने मेयर सरावगीको योजनामा सिडियोले लगाए ब्रेक  

सम्धी राजेश अग्रवालको कारखानाका मजदुरहरुको निशुल्क कोरोना परिक्षण गराउन मेयरको प्रयास असफल

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ असोज ७ बुधबार
bijaya-sarabagi-rajesh-agra.jpg

पर्सा। बिरगंज महानगरपालिकाका मेयर विजय सरावगी सरकारले बनाएको कोरोना प्रोटोकल बिरुद्ध गएपछि लज्जित हुनुपरेको छ । पछिल्लो समय सरकारले बनाएको कोरोना प्रोटोकल बिरुद्ध गएर सामुहिक स्वाब संकलन गराएपछि उनको कार्यमा प्रसासनले ब्रेक समेत लगाएको छ ।   

मेयर सरावगीले आफ्ना सम्धी पर्ने राजेश अग्रवालको शुभश्री जगदम्बा सिमेन्ट प्रालिका २९२ मजदुरहरुको सामुहिक रुपमा निशुल्क कोरोना परिक्षण गराउन खोजेका थिए । यसका लागि उनले महानगरका कर्मचारी पठाएर असोज ४ गते स्वाब संकलन गराएका थिए । 

महानगरका कर्मचारीले संकलन गरेको स्वाब उनले नारायणी अस्पतालमा पठाएका थिए । त्यसपछि मेयर सरावगीले संकलित स्वाबलाई परिक्षण गरेर पठाउन अस्पतालमा दवाव समेत दिएका थिए । 

प्रोटोकल भन्दा बाहिर गएर कोरोना परिक्षण गराउन खोजेको जानकारी पाए लगत्तै पर्साका प्रमुख जिल्ला अधिकारीले जिल्ला विपद व्यवस्थापन समितिको वैठक राखि मेयरको प्रयासमा ब्रेक लगाइदिए । प्रजिअ आसमान तामाङले समितिबाट निर्णय नै गराएर सामुहिक रुपमा स्वाब संकलन गरेर कोरोना परिक्षण गर्ने कार्य प्रोटोकल भन्दा बाहिर गएर भएको जानकारी नारायणी अस्पताललाई सोमबार नै पठाइदिएका हुन् । 

संकलित स्वाबको परिक्षण गर्ने हो भने सरकारले तोकेको शुल्क तिरेर मात्र गर्न समितिको निर्णयको सर्कुलर अस्पताललाई पनि पठाएको तामाङले बताए । सरकारले अहिले कोरोना परिक्षणको लागि २ हजार रुपैयाँ शुल्क लिने गरेको छ । सरकारले तोकेको शुल्क लिदा पनि २९२ जनाको ५ लाख ८४ हजार शुल्क सो कम्पनीले तिर्नु पर्ने हुन्छ। सम्धीको कम्पनीको सोहि शुल्क मिनाहा गराउन मेयर लागिपरेपनि प्रोटोकल बाहिर गर्न नसकिने निर्णय भएपछि भने उनी पछि हट्नुपर्ने अवस्था आएको छ । पीसीआर मेसिन ल्याउने बेलामा चन्दा दिएर सहयोग गरेका कारण अग्रवालका कारखानामा काम गर्ने मजदुर तथा कर्मचारीको निशुल्क परिक्षण गराउन मेयरले जिद्धी गर्दै आएका छन् । पीसीआर किन्ने बेलामा अग्रवालले ६ लाख चन्दा दिएका थिए । तर प्रसासनबाट आएको पत्र देखाउँदै नारायणी अस्पतालले मेयरले जतिसुकै दवाव दिएपनि मानेको भने छैन ।  

स्वदेशी बाहेक विदेशीको स्वाब संकलन रोकिएको छ। कसैको कोरोना परिक्षण गर्नुपर्ने भए शुल्क तिरेर मात्र गर्ने भनिएको तामाङले बताए। नारायणी अस्पतालमै कोरोना परिक्षण हुने भएपनि अहिले रिएजेन्ट नभएको जानकारी पनि प्रजिअ तामाङले दिए। 



लोकप्रिय समाचार
नयाँ