काठमाडौं । नेपाली भूमि मिचेको भन्दै नेपालीहरुले काठमाडौंस्थित चिनियाँ दूतावासअगाडि ‘गो ब्याक चाइना’ को नारा लगाइएको छ ।
हुम्लाको सीमाना लिमीको लाप्चा बगरमा रहेको ११ नम्बरको सीमास्तम्भ हराएको र त्यसको फाइदा उठाउँदै नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको छ ।
उक्त अतिक्रमित भूमिबारे बुझ्न हुम्ला प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको नेपाली टोली सीमाबाट बिना निष्कर्ष खाली हात फर्किएको छ।
चिनियाँ पक्षले लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको र भवन निर्माण गरेको भूमि चिनियाँ भएको दाबी गरेको छ ।
अनुगमन र वार्ताका लागि गएको टोलीलाई चिनियाँ पक्षले हाम्रो भूमिमा वार्ता गर्न मिल्दैन भन्दै हपारेको स्थलगत अध्ययनका लागि गएको टोलीसंग लाप्चा पुगेका नाम्खा गाउँपालिका अध्यक्ष बिष्णुबहादुर लामाले बताएका छन् ।
त्यसैगरी चीनले १० महिनादेखि नेपाल–चीन नाका खोल्न सहजीकरण नगरेको भन्दै बुधबार बिहान ‘सचेत नेपाली’ नामका व्यानरमा दूतावास अगाडि नारा घन्केको हो ।
उक्त समूहले आफ्नो कार्यक्रम गर्न थालेपछि प्रहरीले उनीहरुलाई तितरवितर गरेको थियो । उनीहरु त्यहाँ धर्नामा बस्न भने पाएनन् ।
प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गर्दै प्रदर्शन गरे ।
सरकारले भने चिनियाँ पक्षको गतिविधिलाई चासो दिएको छैन ।
यसअघि चिनियाँ राजदूतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुको घरघरमा धाएको विरोधमा ‘गो ब्याक चाइनाको नारा लागेको थियो ।
सीमामा चिनियाँ अतिक्रमण बिरुद्ध चिनियाँ दुतावास अगाडी प्रदर्शन
Posted by Hamrakura.com on Wednesday, September 23, 2020